राप्ती गाउँपालिकामा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरियो



ओमप्रकाश गुप्ता , सिसहनियाँ २२ साउन । दाङको राप्ती गाउँपालिकामा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माण कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको अायोजना तथा प्राक्टिकल एक्सन दाङको सहयोगमा नेपाल रेडक्रस सोसाइटी दाङद्वारा सञ्चालित विपद पुर्व तयारी तथा बाढी पुर्व सुचना प्रणाली सवलीकरण परियोजनाको प्राविधिक सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न भएको हो । 

विगतका वर्षमा भएको क्षति तथा घटना विवरणका अाधारमा अागामी दिनमा हुन सक्ने विपद तथा क्षति विवरणका बारेमा पुर्व तयारी र प्रतिकार्य योजना निर्माण गर्न कार्यक्रमको अायोजना गरिएको नेपाल रेडक्रस सोसाइटी दाङका फिल्ड संयोजक मदन अधिकारीले जानकारी दिएका छन् । कार्यशालाले राप्ती गाउँपालिकामा भुकम्प, बाढी, सडक दुर्घटना, अागलागी, सर्पदंश, चट्याङ , शितलहर, पहिर‍ो र हावाहुरी मुख्य विपद भएको निष्कर्ष निकालेको छ । सो विपदबाट कुन कुन वडामा कुन कुन विपद हुनसक्छ र कति क्षेत्री हुन सक्छ भन्ने विषयमा योजना पनि बनाइएको छ ।

कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्रका शिक्षा, स्वास्थ्य, वन  वातावरण, ब्यवसाय उद्योग, राजनैतिक पार्टी , सुरक्षाकर्मी, पत्रकार, कर्मचारी, संघ संस्थाहरु लगायतका प्रतिनिधिहरुको सहभागीतामा योजना निर्माण गरिएको हो ।

कार्यक्रममा राप्ती गाउँपालिकाको खोज तथा उद्धार, सूचना र समन्वयको विषयगत क्षेत्र, आपतकालिन आवास तथा गैर खाद्य विषयगत क्षेत्र, कृषि तथा खाद्य विषयगत क्षेत्र, स्वास्थ्य खानेपानी तथा सरसफाई र पोषण विषयगत क्षेत्र, शिक्षा विषयगत क्षेत्र, राहत पुनः स्थापना तथा पुननिर्माण विषयगत क्षेत्र, संरक्षण विषयगत क्षेत्रहरुको पहिचान र आगामी रणनितिका वारेमा संरक्षण पुर्ण तयारी कार्ययोजना समेत निर्माण गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा भएको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशालाको जलवायु परिवर्तन तथा वातावरण अनुसन्धानका टिम लिडर भुपमणी दाहाल र कार्यक्रम संयोजक अाभास पाैडेलले सहजीकरण गरेका थिए । भने कार्यक्रमको सञ्चालन सुचना अधिकारी विश्वास विकले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्