काठमाडौं । झण्डै एक महिनाअघि लद्धाख क्षेत्रमा भारत र चीनका सेनाबीच भएको लडाइँमा २० जना भारतीय सैनिक मारिएपछि दुई देशबीच सीमा विवाद निकै जटिल बनेको छ । तर भारत सरकार र भारतकै एकथरी मिडियाले भने चीनसँगको सीमा विवाद र उक्त झडपमा भएको हताहतीकै बाबजुद भारत हावी भएको प्रचार गरिरहेका छन् । गत जुन महिनामा भएको सो झडपमा चिनियाँ पक्षमा कति हताहत भयो भन्ने प्रष्ट छैन तर भारत सरकार र केही भारतीय मिडियाले उक्त घटनामा भारतकै जित भएको जसरी एकोहोरो प्रचार गर्दै आएका छन् ।
भारतका विपक्षी नेताहरुले चीनसँगको सीमा मुद्धामा निकै गम्भीर प्रश्न उठाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सर्वदलीय बैठकमा उनीहरुले कुन अवस्थामा झडप भयो ? चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको हो या भारतीय सैनिक चिनियाँ क्षेत्रमा पुगेपछि झडप भएको हो ? भन्नेजस्ता निकै गम्भीर विषय उठाएर सरकारलाई प्रश्न गरे । तर, मोदीले ‘कसैले भारतीय क्षेत्रमा घुसपैठ गरेको छैन, न त भारतको कुनै सुरक्षा चौकी कसैले कब्जामा लिएको छ’ भनेर निकै तौलिएका शब्द प्रयोग गरी जवाफ दिए ।
मामिला त्यसपछिका दिनमा पनि सेलाएको छैन । दुवै मुलुकका बीच सैन्यस्तरमा पटक–पटक वार्ता भएका छन् तर एकथरी भारतीय मिडियाले वार्तामा भारत हावी भएको र चिनियाँ सेनाले सीमा क्षेत्रबाट आफ्नो उपस्थिति हटाउँदै गएको दावी गरे । त्यसअघि भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि सीमा क्षेत्रमा पहिलाको तुलनामा चिनियाँ सैनिक संख्या केही बढी देखिएको र मामला साम्य भएको भन्दै घटनालाई बढाइ–चढाइ प्रस्तुत गर्न नहुने उल्लेख गरेका थिए ।
उनले चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा पार गरेर भारततर्फ नआएको प्रष्ट पारेका थिए तर मंगलबार भारतको रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको एउटा दस्तावेजले सरकारकै झुटको पोल खोलेको छ । भारतीय सेनाको कार्यप्रगति विवरणसहित प्रकाशित उक्त दस्तावेजमा भारत–चीन सीमाक्षेत्रमा तनाव कायम रहेको र लामो समयसम्म यो अवस्था रहिरहने सम्भावना औंल्याइएको छ । सीमाक्षेत्रमा चिनियाँ सेनाको उपस्थिति बढेको पनि दस्तावेजमा उल्लेख छ ।
केही भारतीय सञ्चारमाध्यमले रक्षा मन्त्रालयको उक्त दस्तावेजलाई आधार बनाएर समाचार प्रकाशित गरेका छन् । समाचार प्रकाशमा आउनासाथ भारत सरकार र सरकार समर्थित मिडियाले लद्धाख क्षेत्रमा भारत हावी भएको भन्ने सन्देश प्रवाह हुने गरी केही महिना यता चलाएको ‘प्रोपोगाण्डा’को वास्तविकता खुलासा भएको हो । उक्त दस्तावेजलाई आधार बनाएर धमाधम समाचार प्रकाशित हुन थालेको र त्यसले सरकारकै झुटको पोल खोल्न थालेपछि रक्षा मन्त्रालयले आफ्नो वेबसाइटबाट उक्त दस्तावेज हटाएको छ । तर दस्तावेज सार्वजनिक भएलगत्तै त्यसको अध्ययन गरी केही सञ्चारमाध्यमले समाचार बनाइसकेका कारण यो मामिलामा सरकारको झुटको पर्दाफास भएको हो ।
के थियो दस्तावेजमा ?
उक्त दस्तावेजलाई आधार बनाएर भारतीय दैनिक पत्रिका ‘अमर उजाला’ले लेखेको छ, ‘रक्षा प्रतिष्ठानले चिनियाँ सेनाले गत मई महिनामा पूर्वी लद्धाखस्थित भारतीय क्षेत्रमा घुसपैठ गरेको आधिकारिकरुपमा स्वीकार गरेको छ ।’ उक्त दस्तावेजलाई उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘चिनियाँ पक्षले कुगराङ्ग नाला, गोगरा र पैङ्गोङ्ग तालको उत्तरी तटमा १७–१८ मईमा घुसपैठ गरेको थियो ।’ सो दस्तावेजमा सीमाक्षेत्रमा लामो समयसम्म गतिरोध जारी रहने सम्भावना औंल्याइएको छ ।
हिन्दी भाषामा प्रकाशित हिन्दूस्तान दैनिकको अनलाइन संस्करणमा पनि उक्त दस्तावेजलाई आधार बनाएर समाचार प्रकाशित गरिएको छ । रक्षा मन्त्रालयको दस्तावेजलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘पारस्परिकरुपमा स्वीकार्य आमसहमतिमा पुग्नका लागि सैन्य र कुटनीतिकस्तरमा दुवै पक्षबीच वार्ता जारी छ, यस्तोमा वर्तमान गतिरोध लामो समयसम्म जारी रहने सम्भावना छ ।’
चीनको धारणा
चीनले सीमा क्षेत्रमा भारतीय सैनिकको भड्कावपूर्ण गतिविधिका कारण तनाव बढेको प्रष्टिकरण दिँदै आएको छ । केही विवादित क्षेत्रमा भारतले सडक, पुल लगायतका भौतिक संरचना निर्माणमा जोड दिएपछि सीमा सुरक्षामा खटिएका चिनियाँ सुरक्षाकर्मीले भारतीय सेनालाई रोकेको र त्यसक्रममा झडप भएको चिनियाँ पक्षको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।