भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ । भारतमा यो अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित संख्या हो । यो संक्रमण दर उच्च रहेका देश अमेरिका र ब्राजिलको भन्दा पनि बढी भएको बताइएको छ । वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अमेरिकामा ५८ हजार ३ सय ३८ र ब्राजिलमा ५४ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको छ । कोलम्बियामा बिहीबार एकै दिन झण्डै १० हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ ।
फेस टु फेस पठनपाठन सम्भव छैनः शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले तत्काल विद्यार्थीको पठनपाठन गर्न नसकिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले फेस टु फेस पठनपाठन तत्काल सम्भव नरहेको बताएका हुन । सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ ? भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प कार्यान्वयनमा आइसकेको पनि बताए । सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्प अनुसार काम गर्न पनि मन्त्री पोखरेलले आग्रह गरे । विद्यार्थीलाई घरमै गएर पढाउने जस्ता काम पनि भएको भन्दै उनले यो विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको मन्त्री पोखरेलले बताए ।
हलो–जुवा सहित आन्दोलनमा
घोराही । धानमा प्रयोग गर्ने युरिया मल पाउन नसकेको भन्दै दाङका कृषकहरूले हलो जुवासहित आन्दोलन गरेका छन् । घोराही उपमहानगरपालिका–२ साइपुरका किसान दिलबहादुर नेपालीले धान रोपेको डेढ महिना हुन थाल्यो । करिव एक बिगाहा जमिनमा रोपेको धानमा अहिले मल छर्नुपर्ने भएको छ तर उनले मल पाउन सकेका छैनन् । ‘मल नपाउँदा धान बढ्न सकेको छैन, बोट पहेलोसमेत हुन थालेको छ’, नेपालीले भने, ‘तर गाउँमा मल ल्याउने सहकारीमा मलका लागि जाँदा सहकारी संस्थाले मल आएको छैन भन्छ ।’ उनले समय मै धानमा छर्न मल नपाउँदा मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको समेत बताए ।
कोरोनाबाट मर्नेको संख्या ७० पुग्यो
कोरोनाभाइरस संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार वीरगञ्ज महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको २२ साउनमा काठमाडौंमा मृत्यु भएको छ । उनको ललितपुरको पाटन अस्पतालमा उपचारत उनको मृत्यु भएको हो । यस्तै वीरगञ्ज–११ का ७९ वर्षीय पुरुष र ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ७९ वर्षीय पुरुषको घरमै मृत्यु भएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा नयाँ सुरक्षा रणानीति
काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले कोरोना संक्रमणको जोखिमबाट बच्न नयाँ सुरक्षा रणनीति लाग गर्ने निर्णय गरेका छन् । आइतबारदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट दिइने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ । कोरोना जोखिमबाट बच्न मास्क प्रयोग नगर्नेमाथि सुरक्षाकर्मी निर्मम बन्ने भएको छ । ‘मास्क प्रयोगबारे जनचेतना पनि जगाउँछौं,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘मास्क नलाउनेलाई १ सय रुपैँया जरिवाना गराउन अझै निर्मम हुने निर्णय गरिएको छ ।’
उपत्यकामा सटडाउन
जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा भदौ ८ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट अब शान्ति सुरक्षा, सवारी पास र विपद व्यवस्थापन सम्बन्धि सेवा मात्रै दिइनेछ । नयाँ सुरक्षा रणनीति अन्तर्गत स्थानीय प्रशासनले सपिङ मल, डिपार्टमेन्टल स्टोर र होटलको अनुगमन गर्ने भएको छ । भीडभाड हुने क्षेत्रमा सुरक्षा सतर्कताबारे संयन्त्र बनाएर अनुगमन गरिने बताइएको छ ।
कोरोना विरुद्धको भ्याक्सिनले स्वीकृति पाउने
रुसको मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरसले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ । गत साता स्वास्थमन्त्री मिखाइल मुरास्र्कोले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहोर्ने पनि जानकारी गराएका थिए । ‘गामेलेई सेन्टरमा विकास भएको भ्याक्सिनको दर्ता अगस्ट १२ मा हुनेछ,’ रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले पत्रकारसँग भनेका थिए,‘अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ । यो परीक्षण हो र अति महत्वपूर्ण छ । हामीले यो बुुझ्न जरुरी छ कि भ्याक्सिन आफैंमा सुरक्षित हुनैपर्छ ।’ १८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंमसेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । रुसका अनुसार क्लिनिकल ट्रायलमा सहभागी सबैमा संक्रमणविरुद्ध इम्युनिटी विकास भएको थियो ।
पार्टी प्रवक्ताको लाज त जोगाउनुस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद कुनै निकास नपाएर अड्किएको छ । अहिले दुबै पक्ष न विवाद सुल्झाएर अघि बढेका छन् न त समाधानका लागि तीव्र छलफलमा नै छन् । पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीइतरका नेताहरूले अहिलेको विवाद पदका लागि नभई विधि र पद्धतिका लागि भएको बताउँदै आएका छन् । विधि र पद्धतिको कुरा गर्नेमध्येका एक हुन्, पार्टी प्रवक्तासमेत रहेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ । गत बुधबार राजधानीमा आफूनिकट सय बढी पत्रकारलाई बोलाएर अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरू खनाल र नेपाल र श्रेष्ठले ओलीको कार्यशैलीको विरोध गरेका थिए । त्यसको दुई दिनपछि प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले श्रेष्ठलाई सार्वजनिकरूपमा पार्टी प्रवक्ताको लाज जोगाउन भनेका छन् । शुक्रबार बिहान नारायणकाजीलाई मेन्सन गर्दै रिमालले लेखेका छन् इनफ इज इनफ नारायणकाजी जी । कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।