Banner Second

अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

By Thah Online

August 08, 2020

काठमाडौँ / २४ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोधगरेका हुन् ।

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएकोबताएको सुवेदीले जानकारी दिए। उनल्रे भने “प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।”

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्त्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाउनुभएको जानकारी दिए ।

ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जाँदैछ ।