बेरुत विष्फोटमा ४३ सिरीयाली मारिएको पुष्टि



काठमाडौं । लेबनानको राजधानी बेरूतमा मङ्गलबार भएकोे विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको समाचार छ । लेबनानस्थित सिरियाली दूतावासले शनिबार यस्तो कुराको जानकारी गराएको हो ।

दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका हुन् वा विस्फोटपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेका व्यक्तिहरूमा आफ्ना नागरिकहरू परेको भन्ने विज्ञप्तिमा उल्लेख गरेको छैन ।

विज्ञप्तिमा भनिएको छ, “विस्फोटमा परी मृत्यु हुने सिरियालीको सङ्ख्या ४३ पुगेको हामीलाई प्रष्ट जानकारी प्राप्त भएको छ । यो घटनामा अन्य केही सिरियालीले पनि ज्यान गुमाएका हुनसक्छन् । तर यसबारे पुष्टि हुनेगरी सूचनाहरू प्राप्त भएका छैनन् ।”

दूतावासले केही मृतकहरूलाई स्वदेश पठाउने र लेबनानमा आफन्त रहेका वा सिरिया पठाउन कानूनी समस्या भएका अन्य शवलाई लेबनानमा नै अन्त्येष्टि गरिने जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुत बन्दरगाहमा मंगलबार भएको विस्फोट पछि ६० भन्दा बढी मानिस अझै वेपत्ता रहेको बताएको छ ।

घटनास्थलमा उपलब्ध एएफपीका प्रतिनिधिहरुका अनुसार विस्फोटमा परी मृत्यु भएका सिरियालीहरू बन्दरगाह शहरमा सामान लिएर प्रवेश गरेको पानीजहाजका चालक दलका सदस्य रहेको बताइएको छ । सिरियाली द्वन्द्वका कारण लेबनानमा करिब १५ लाख सिरियाली आप्रवासी तथा शरणार्थीहरू रहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्