आज दिनभरका मुख्य-मुख्य समाचारहरु



स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गर्न आग्रह गरेका छन् । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पार्टीभित्र उत्पन्न विवादले अनिश्चितकालका लागि स्थगित छ । शनिबार साझा सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले भने, ‘म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।’

त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्नुपर्ने उनको भनाइ छ । उनले लेखेका छन्, ‘बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।’

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ 

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो । 
३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 
गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेरुत विष्फोटमा ४३ सिरीयाली मारिएको पुष्टि

लेबनानको राजधानी बेरूतमा मङ्गलबार भएकोे विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको समाचार छ । लेबनानस्थित सिरियाली दूतावासले शनिबार यस्तो कुराको जानकारी गराएको हो ।

दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका हुन् वा विस्फोटपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेका व्यक्तिहरूमा आफ्ना नागरिकहरू परेको भन्ने विज्ञप्तिमा उल्लेख गरेको छैन ।

विज्ञप्तिमा भनिएको छ, “विस्फोटमा परी मृत्यु हुने सिरियालीको सङ्ख्या ४३ पुगेको हामीलाई प्रष्ट जानकारी प्राप्त भएको छ । यो घटनामा अन्य केही सिरियालीले पनि ज्यान गुमाएका हुनसक्छन् । तर यसबारे पुष्टि हुनेगरी सूचनाहरू प्राप्त भएका छैनन् ।”

दूतावासले केही मृतकहरूलाई स्वदेश पठाउने र लेबनानमा आफन्त रहेका वा सिरिया पठाउन कानूनी समस्या भएका अन्य शवलाई लेबनानमा नै अन्त्येष्टि गरिने जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुत बन्दरगाहमा मंगलबार भएको विस्फोट पछि ६० भन्दा बढी मानिस अझै वेपत्ता रहेको बताएको छ ।

 एयर इन्डियाको जहाज दुर्घटनामा २० को मृत्यु

एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ।

भारतीय अनलाइन स्क्रोलका अनुसार दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने स्क्रोलले लेखेको छ।

कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।

 प्राधिकरणको आम्दानी घट्यो

हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणलले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको करिब रु चार अर्ब ५० करोड अर्थात् ४३ प्रतिशतले आम्दानी घटेको छ । वायुसेवाको आम्दानी करिब रु छ अर्बले घटेको जनाइएको छ ।

माडीमा रामको मन्दिर बनाउन ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए ।

झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताए । ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’

माडीमा रामको मन्दिर बनाउन ओलीको निर्देशनप्रधानमन्त्री ओलीले विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएको माडीका मेयर ठाकुरप्रसाद ढकालले अनलाइनखबरलाई बताए । तर यहाँ उत्खनन् गर्ने भन्दापनि शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाएको ढकालले स्वीकार गरे ।

 ‘लेट फी’ नमाग्न मेडिकल माफियालाई चेतावनी

चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा पनि मेडिकल कलेजका मालिकहरूले विद्यार्थी र अविभावकहरुलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै यसप्रकारको कार्यमा सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले  सङ्घर्ष  समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी तथा काठमाडौं विश्वविद्यालय परिवारका तर्फबाट विज्ञप्ति जारी गर्दै कोरोना महामारीको समयमा व्यापार–व्यवसाय गरिरहेका थुप्रै व्यवसायीहरूले पनि आफ्ना व्यावसायिक समूहहरूलाई भुक्तानी छुट दिइरहेको अवस्थामा मेडिकल कलेजका मालिकहरूलाई शिक्षाका नाममा विद्यार्थीलाई लेट फि भन्दै फेरि अर्को रकम नमाग्न चेतावनी पनि दिएका छन् ।

जसपामा निर्णय गर्ने जिम्मा पाँच नेतालाई

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समिति बैठकमा पेश भएका सातवटा एजेन्डाबारे निर्णय गर्ने जिम्मा शीर्ष पाँच नेतालाई दिएको छ ।  शनिबार साँझ सम्पन्न कार्यकारिणी समितिको बैठकले अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरु अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतोलाई निर्णय गर्ने जिम्मा दिएको हो ।

जसपाको पहिलो कार्यकारिणी समितिको बैठकमा पार्टी समायोजन, कार्यविभाजनसहितका सात वटा एजेन्डा प्रस्तुत भएको थियो । सातवटै एजेन्डामा कार्यकारिणी समितिका सदस्यहरुले दिएका सुझाव मिलाएर शीर्ष पाँच नेताले निर्णय सार्वजनिक गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

 युभेन्ट्सका प्रशिक्षक सारी बर्खास्त

युभेन्ट्सले शनिबार आफ्ना प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेको छ । सारीले क्लब सम्हाल्ने एक वर्षको अवसर मात्र पाए । उनको नेतृत्वमा युभेन्ट्सले लगातार नवौं पल्ट इटालीको सिरी ए उपाधि जितेको थियो ।

तर क्लब युरोपेली च्याम्पियन्स लिगमा अन्तिम १६ बाट नै बाहिरिएको थियो । शुक्रबार रातिको खेलमा युभेन्ट्सले लियोनलाई हराएपछि ‘अवे गोल’ को आधारमा बाहिरिएको थियो ।

चेल्सीमा एक वर्ष बिताएयता गत सिजनमात्रै ६१ वर्षीय सारीले युभेन्ट्ससँग तीन वर्षको अनुबन्ध गरेका थिए । लिगमा पनि युभेन्ट्स आफ्नो अन्तिम चारमध्ये तीन खेलमा पराजित रहेको थियो ।

लिगको अन्त्यमा युभेन्ट्स दोस्रो स्थानमा रहेको युभेन्ट्सभन्दा एक अंकले मात्र अगाडि रहन सक्यो । युभेन्ट्सले सन् १९९६ यता च्याम्पियन्स लिग जित्न सकेको छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्