अचम्मः एउटै व्यक्तिको २ खाले रिपोर्ट



काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका विराटनगरका एक व्यक्तिको कोरोना भाइरस कोभिड–१९ को रिपोर्ट फरक आएको छ । २४ घण्टाको फरकमा एक व्यक्तिको ‘पोजेटिभ र नेगेटिभ’ रिपोर्ट आएपछि शव व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएको थियो ।

मृगौला रोगी रहेका विराटनगर–१० का ६३ वर्षीय रमेश अग्रवालको उपचारका क्रममा शनिबार धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको छ । अग्रवाल बिरामी भएपछि उनलाई कोसी अस्पताल उपचारका लागि लगिएको थियो । उनको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि अग्रवाललाई फिबर क्लिनिकबाट स्वाब संकलन गरी घर पठाइएको थियो ।

अग्रवालको स्वास्थ्यमा थप समस्या आएपछि परिवारले उनलाई धरानको बिपी प्रतिष्ठान लगेका थिए । शुक्रबार धरान जाँदासम्म उनको कोरोना रिपोर्ट आएको थिएन । प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरी पुनः कोरोना जाँच गर्न भन्दै स्वाब संकलन गरेको थियो । शुक्रबार इमरजेन्सीमा भर्ना भइ उपचारका क्रममा शनिबार उनको मृत्यु बिपी प्रतिष्ठानले जनाएको छ ।

तर उनको धरानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट भने कोसी अस्पतालको भन्दा ठीक उल्टो आयो । कोसीमा बिहीबार संकलन गरेको स्वाबमा कोरोना पोजेटिभ देखिएको अस्पताले जनाएको छ । यता एक दिनपछि शुक्रबार प्रतिष्ठानले संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा परीक्षणका लागि पठाएको स्वाबमा भने नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
कोसी अस्पतालका मेडिकल सुपररिटेन्डेन्ट डाक्टर चुमनलाल दासले भने, ‘अग्रवालको विषयमा हाम्रो ल्याब प्रष्ट छ । उनको रिपोर्टमा कोरोना भाइरसको पोजेटिभ देखिएको छ ।’ ‘मैले ल्याबसँग यस विषयमा बुझ्दा हाम्रोमा पोजेटिभ रिपोर्ट आएको छ,’ डाक्टर दासले भने, ‘फिबर क्लिनिकबाट स्वाब संकलन गरेर परीक्षण गरिएको रहेछ । ल्याबको रिपोर्टमा कुनै फरक पर्ने कुरै आउँदैन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्