गुरुयोजना बनाएर अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौँ / २५ साउन।
प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गर्नुभएको हो।

प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताउनुभएको छ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताउनुभएको उपप्रमुख महतोले उल्लेख गर्नुभयो ।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाउनु भएको छ ।

त्यस्तै, केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्