बुद्ध भारतीय हुन्ः एस जयशंकर



नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले त्यस्तो धारणा राखेका हुन् ।

‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयकारुपमा चिन्छ’ सम्मेलनलाई सम्बोधनका क्रममा जयशंकरले भनेका छन् । भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको दाबी गरेका थिए । मोदीको उक्त भनाइको पनि नेपालमा विरोध भएको थियो । तर उनै मोदीले ठिक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्धभूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए ।

मोदीको गरेको उक्त सम्बोधनले नेपालमा निकै वाहवाही पाएको थियो । तर नेपालमा त्यस्तो अभिव्यक्ति दिएका मोदीले नै बेलाबखत बुद्ध भारतीय भएको दाबी गर्दै आएका छन् । गत वर्ष संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नेक्रममा पनि मोदीले भारतले विश्वलाई बुद्ध दिएको दाबी गरेका थिए । प्रधानमन्त्री केपी ओलीले राम नेपालमा जन्मेको अभिव्यक्ति दिएसँगै जवाफमा भारतीय विदेशमन्त्रीले बुद्ध भारतमा जन्मिएको दाबी गरेको हुनसक्ने अनुमान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्