प्रयोग भएको मास्क जथाभावी फालेर रोग फैलाइरहनु भएको त छैन ?



ललितपुर । कोरोना भाइरसको जोखिम दिनदिनै बढिरहँदा काठमाडौं उपत्यकामा मास्क लगाउनेको संख्या थपिँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने बानी पनि समाजमा विकसित भएको छ । कसैले फोहरको डंगुरमा मास्क फाल्छन्, कसैले सडकपेटी र गल्लीमा फाल्ने गरेका छन् ।

यसरी फालिएको मास्कले संक्रमणको खतरा हुन सक्ने विज्ञहरू बताउँछन् । संक्रमणबाट जोगिन उपत्यकावासीले एन ९५, केएन ९५, सर्जिकल मास्क र कपडाको मास्क प्रयोग गरिरहेका छन् । यद्यपि सर्जिकल मास्क बढी प्रयोग हुने गरेको छ । प्रयोग गरिएका मास्क सडक, गल्लीलगायतका स्थानमा फालिएको अवस्थामा भेटिने गरेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।

‘फोहरको डुंगुरमा मास्क पनि आइरहेका छन् । घर र कार्यालयबाट निस्कने फोहरमा मास्क भेटिएको छ,’ उनले भने, ‘दैनिक कति मास्क फोहरका रूपमा आउँछ भन्ने लेखाजोखा छैन ।’ काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका कुचीकार नाइके योगेश केसीका अनुसार पछिल्लो समय फोहरमा धेरै मास्क भेटिन थालेको छ । यो वडामा दैनिक ५० वटा जति यत्तिकै बाटोमा फालिएका मास्क भेटिने गरेको छ ।

उनले भने, ‘यति संक्रमितले लगाएर फालेको मास्क रहेछ भने त्यसले फोहर संकलन गर्नेलाई पनि संक्रमणको जोखिम हुनसक्छ । बाटामा मास्क देखियो भने नटिप्ने भन्ने हुँदैन ।’ वातावरण विभाग प्रमुख श्रेष्ठका अनुसार मास्क डिस्पोज गर्ने तरिका कमैले मात्र लागू गरेका छन् । फोहरकारूपमा जथाभावी मास्क फाल्दा यसले संक्रमणको खतरा निम्ताएको छ ।

विश्व स्वास्थ्य संगठनको सिद्धान्तअनुसार सर्जिकल मास्क एक पटक प्रयोग गरेपछि फेरि अर्को पटक प्रयोग गर्न मिल्दैन । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले सर्जिकल मास्क एक पटक लगाएपछि ६–७ घण्टाभन्दा लगाउन नहुने बताउँछन् । उनले भने, ‘सम्भव भएसम्म २–३ पटकसम्म लगाउने गरिएको छ । धोएर भने लगाउनु हुँदैन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्