नियमित हवाई उडान नहुँदा ७६ श्रमिकका शव विदेशमा अलपत्र



काठमाडौं / २५ साउन।
विदेशमा ज्यान गुमाएका ७६ नेपालीको शव चार महिनादेखि उतै अलपत्र छ। वैदेशिक रोजगार बोर्डले ल्याउन नसक्दा ती शव उतै अलपत्र परेका हुन्।

शव ल्याउन नसकेपछि परिवारले उतै अन्त्यष्टि गर्न अनुमति दिए बोर्डले ५० हजार रूपैयाँ दिने निर्णण गरेको थियो। कोरोनाबाहेक अन्य कारणले मर्नेको शव घर पुपुर्याउने दायित्व बोर्डको हो।

बोर्डले नियमित हवाई उडान नहुँदा शव झिकाउन नसकेको जनाएको छ। मृतकका आफन्तले भने चाँडोभन्दा चाँडो शव झिकाइदिन आग्रह गरेका छन्।

कोरोनाले महामारीको रूप लिनुअघि तीन महिनाभन्दा बढी विदेशमा शव अलपत्र पर्दैनथे। बोर्डका उपसचिव दीनबन्धु सुवेदीले कोरोना महामारीपछि नियमित अन्तर्राष्ट्रिय रूपमा हवाई उडान नहुँदा शव झिकाउन कठिन भएको बताए।

शव ल्याउन कठिन भएपछि बोर्डले उतै अन्त्यष्टि गर्न सहमति दिने परिवारलाई ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

सो निर्णय अनुसार एक सय ७२ शव उतै अन्त्यष्टि गर्न सम्बन्धित परिवारले सहमति दिएका छन्। गत चैतयता विदेशमा चार सय ९४ को नेपालीको मृत्यु भएको छ। मृतकमा महिला १५ रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्