विद्युत मिटर रिडिङ गर्न अब घर-घर जानु नपर्ने, महसुल नतिर्नेको केन्द्रबाटै लाइन काट्न सकिने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार बुढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गरेका छन् ।

देशभर ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरूको करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइसचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरिएको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने कार्यक्रम कार्यान्वयन उत्साहजनक भएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २५ सयदेखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने जानकारी दिए ।

प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार दुई सय २२ टाइम अफ डे (टिओडी) मिटरहरूलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरहरूलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन् भने ६० हजार मिटर जडान भइरहेका छन् । नयाँ थ्री फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ ।

स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन ब्याकबोन’ काठमाडौं उपत्यकाभरिलाई हुने गरी जडान गरिनेछ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब एक अर्ब रुपैयाँ रहेको छ । यसमा एसियाली विकास बैंकले सहुलियतपूर्ण ऋण दिएको छ । काठमाडौं उपत्यकामा हाल रहेका करिब चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्