आज दिनभरका मुख्य समाचारहरु



काठमाडौंको गोंगबु चोकबाट केही मिटरभित्रको नवज्योती मार्गमा रहेको चारतले घर । त्यो घर किरण बस्नेतको हो । आसपासका स्थानीयले उनलाई ‘झापाली दाई’ भनेर चिन्थे । शनिवार राती उनकै घरमा दाङका कृष्ण बहादुर बोहराको हत्या भयो । आइतबार विहान घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर छाडेको टाउको र दुईवटा खुट्टा भेटियो ।

कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही क्लूको आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो । किरण बस्नेतको घरको तेस्रो तल्लामा बस्थिन् कल्पना शाही र उनका दुई बच्चा । एक छोरा र एक छोरीसँगै बस्थे । उनकी एउटी छोरीको विवाह भैसकेको छ । कल्पनाकै कोठामा कृष्णबहादुरको इहलिला समाप्त पारियो । हत्यामा संलग्न कल्पनालाई चितवनबाट पक्राउ गरिएको छ । हत्याको कारण खुलिसकेको छैन्, त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 लामो दुरीका यातायात र हवाई उडानमा रोक

कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने सरकारले निर्णय गरेको छ । त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकार विचौलियाको कठपुतली भयोः कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपीशर्मा ओली नेतृत्वको वर्तमान सरकार विचौलियाको कठपुतली बनेको बताएको छ।

सरकारले जनताका पीडा नसुनेको उल्लेख गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार विचौलियाको हितका लागि मात्रै काम गरिराखेको बताए।

‘विचौलियाको कठपुतली सरकार भन्ने पुष्टि भयो, लगानी बोर्डको नियुक्तिले पनि त्यो पुष्टि गरिसक्यो,’ सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘सरकारले जनताको पीडा सुनेन। समस्या बुझेन। यो सरकारले धेरै सुन्दैन भन्ने त थाहा छ तर सरकारलाई ध्यानाकर्षण गराइराख्ने काम प्रतिपक्षको हो।’

लकडाउन खुलेपछि कोरोना संक्रमणको संख्या बढेको उनले बताए। ‘पूर्ण लकडाउन गर्न आर्थिक हिसावले झन् जटिल हुने देखिएको छ,’ उनले भने, ‘कोरोना समुदायमा फैलिएको विज्ञहरूको पनि निष्कर्ष छ।’

आफ्नै सांसदसँग डराए मुख्यमन्त्री पौडेल

हेटौंडा । आइतबार जिल्ला समन्वय समिति, मकवानपुरको पाँचौं जिल्ला सभा थियो ।प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेशसभाका सदस्यहरु सहभागी सभामा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन हस्ताक्षर संकलन भइरहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरमा राजनीतिक तरंग पैदा भएको छ ।

बागमती प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई उछिन्दै मुख्यमन्त्री बनेका पौडेलको साढे २ वर्षे कार्यकाल सन्तोषजनक नभएको भन्दै नेकपा सांसदहरु समेत असन्तुष्ट देखिन्छन् ।

पछिल्लो पटक आर्थिक वर्ष २०७७/७८ को बजेट पास गर्न समेत प्रदेश सरकारलाई गाह्रो परेको थियो । नेतृत्वको जोडबलमा बजेट पास भएपछि राहतको सास फेरेका मुख्यमन्त्री पौडेलले आइतबार सार्वजनिक मञ्चबाट आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन भएको दाबी गरे ।

 सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना  

बुटवल । रुपन्देहीको सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । मायादेवी गाउँपालिका वडा नंम्बर ३ कम्हरियामा रहेको उक्त उद्योगका कर्मचारी सहित ११ जनामा कोरोना भाइरसको संक्रमण भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणको रिपोर्टअनुसार ५२, २३, २४, ३०, ३७, २६, ३४, २६, ३८ वर्षीय पुरुष तथा ५१ र २१ वर्षीया महिलामा कोारेना संक्रमण पुष्टि भएको हो ।जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार शनिबार उद्योगका ४ जनाको स्वाब परीक्षण बुटवलको नेशनल प्याथ ल्याबमार्फत भएको थियो । शनिबार उद्योगका सञ्चालक सदस्य सहित ४ जनामा कोभिड–१८ संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य ८३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

 कोरोनाका कारण अछामका एक पुरुषको मृत्यु

मेडिकल कलेज कोहलपुरमा आज  एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । सोमबारै ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

आजै नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारत बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको  निधन भएको थियो । उनीसहित स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।

 नाका सिल नगरेसम्म कोरोना संक्रमण नियन्त्रणमा हुँदैनः मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन्। उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शक्यले बताएका हुन्।

मेयर शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताएका हुन्। उनले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने बताए।

महाधिवेशनमा देउवालाई देखाइदिन्छौंः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टी विधिविधान विपरीत कदम चालेको भन्दै कडा आपत्ति जनाएका छन्। महाधिवेशन घोषणा भइसकेको बेला सभापति देउवाले विभाग, समितिहरूमा एकलौटी ढंगले मनोनयन र आफूखुसी पद बाँडेको भन्दै नेता पौडेलले सभापतिको कदमले पार्टीलाई हित नगर्ने बताएका हुन्।

नेता पौडेलको विरोधका बाबजुद सभापति देउवाले आइतबार राति केहि विभागलाई पूर्णता दिँदै करिब पाँच सय जना कार्यकर्तालाई विभिन्न जिम्मेवारी दिँदै मनोनित गरेका थिए।

४७ विभागमध्ये देउवाले करिब ३० विभागमा एकलौटी मनोनित गरेका हुन्। कांग्रेस विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभागलगायत मनोनित गरिसक्नुपर्छ। नियमित चार वर्षे कार्यकाल सिध्याएर थपिएको एक वर्षे कार्यकालको पछिल्लो छ महिना बाँकी रहँदा देउवाले धमाधम मनोनित गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्