Banner First

आज कृष्ण जन्माष्टमी, कृष्णको पुजा आरधना गरि मनाइदै

By थाहा अनलाइन

August 11, 2020

हरिश बम /२७ साउन। आज भगवान् श्रीकृष्णको जन्म भएको दिन श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ।

विगतमा आजको दिन पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन्।

कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन घोडाघोडी गुरुकुलका प्रधानाध्यापक शङ्कर प्रसाद सञ्ज्यालले जानकारी दिनुभएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए ।

त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्‍याऊ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिएको छ ।

वासुदेव नन्दका घरमा गई कृष्णलाई त्यहीँ छाडी त्यही दिन जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।