आज दिनभरका मुख्य–मुख्य समाचारहरु



 गोंगबु हत्याकाण्ड अपडेट

मंगलबार बिहान कल्पनालाई प्रहरीले गोगंबुस्थित डेरामा लग्यो । जुन डेरा सोमबार साँझ नै फुटाएर प्रहरीले सर्च गरिसकेको थियो । अनुसन्धान अधिकृतहरुलाई उनले त्यहाँ ‘यसरी हत्या गरेँ’ भनेर फिल्मी कहानी सुनाइन् ।

‘महिला एक्लैले त्यस्तो क्रुर हत्या गरिन् भनेर पत्याएका थिएनौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीसँग भने– ‘जब उनले कथा सुनाइन हामी चकित भयौं ।’

नशालु पदार्थ खुवाएर बोहोस पारेपछि अण्डकोषमा ह्यामरले हानेर कृष्णबहादुरको हत्या गरियो । अनि, बाथरुपममा लगेर घाँटी र गोडा काटेर कल्पनाले शव व्यवस्थापन गरेकी थिइन् ।

हत्यामा प्रयोग गरेको दाउ र ह्याम्मर प्रहरीलाई उनले नै देखाइन् । उनले प्रहरीसँग भनेकी छिन्– ‘मरेपछि घिसार्दै बाथरुममा लगेर टाउको र गोडा काटेर सुटकेशमा प्याक गरेँ ।’ सिंगो शरीर सुटकेशमा नअटाउने भएपछि काट्नुपरेको कल्पनाले प्रहरीसमक्ष बयान दिएकी छिन् । उनले भनेकी छिन्– ‘सुटकेशमा बोरा नाम्लो लगाएर बोकेर सडकमा फालेँ ।’

 कोरोनाबाट बच्ने पछिल्लो निर्णय

सरकारले विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड–१९ (कोरोनाभाइरस)को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा यसअघि जारी भएको आदेशमा  हेरफेर तथा थपघट गरेको छ ।  यसअघि सरकारले होटल तथा रेष्टुरेण्टको सेवा खुला गरेकोमा अब होटल तथा रेस्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय गरेको छ ।

यसैगरी सङ्क्रमणको सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघसंस्थाहरूले विद्युतीय माध्यमबाटसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।

 अख्तियार प्रमुख पनि कोरोना कहरमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ।

घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।

त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’

उनले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने,’ उनले भने ।

कोभिड-१९ विरुद्धको खोप प्रयोगका लागि योग्य: पुटिन

रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप प्रयोगका लागि योग्य भएको बताएका छन् । उनले करिब दुई महिनासम्म मानिसमा गरिएको परीक्षणका क्रममा खोप सुरक्षित भएको पाइएको बताएका छन् ।

राष्ट्रपति पुटिनले भने, “खोपले आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेको छ ।” उनले आफ्नो छोरीलाई खोप लगाइसकेको समेत बताएका छन् । रुसी अधिकारीहरुले अक्टोबरदेखि बृहत खोप कार्यक्रम सुरु गर्ने बताएका छन् ।

विज्ञहरुले भने रुसले कोरोनाविरुद्धको खोप विकासको तीव्रताप्रति चासो व्यक्त गरेका छन् । उनीहरुले रुसले केही प्रक्रियाहरु छोडेको हुनसक्ने बताएका छन् ।

सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरिएकोमा आशंका व्यक्त गरेका छन् । गत साता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना भाइरसविरुद्धको खोप विकासका लागि जारी गरिएको सम्पूर्ण निर्देशिकाहरु पालना गर्न आग्रह गरेको थियो ।

 प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका संक्रमितको मृत्यु

डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि थप दुई जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी परीक्षण गरिएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ ।

स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुषको पाँच दिनअघि प्लाज्मा थेरापी गरिएको थियो । अब दुई संक्रमितको प्लाज्मा थेरापी गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

बिराट नर्सिङ होमका सञ्चालक समेत रहेका डाक्टर कार्कीको १५ साउनमा त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरिएको थियो ।  पहिलो केस सफल भएपछि अरू गभ्भिर संक्रमितहरूको पनि कन्भालेसेन्ट प्लाज्मा थेरापी थालिएको थियो ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ ।

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य चिन्ताजनक

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ । दिल्लीको आर्मी आरआर हस्पिटलमा गरिएको मस्तिष्कको इमर्जेन्सी अपरेसनपछि उनको अवस्था थप चिन्ताजनक बनेको हो ।

हस्पिटलले उनलाई मुखर्जीको ज्यान बचाउनका लागि मस्तिष्कको इमर्जेन्सी अपरेसन गर्नुपरेको बताएको छ । सैन्य अस्पतालमा उपचारत पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि आईसीयूमा राखिएको छ । पूर्वराष्ट्रपति मुखर्जीले सोमबार ट्विट गरेर आफूमा कोरोना संक्रमण देखिएको बताएका थिए ।

भारतबाट नेपाल आउन १० नाका मात्र प्रयोग हुने

सरकारले भारतबाट नेपाल आउने नागरिकका लागि मुलुकका विभिन्न १० वटा नाका मात्रै प्रयोगमा ल्याउने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले दिएको जानकारीअनुसार भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउनेछन् ।

 धादिङका एसपीलाई कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार एसपी रेग्मीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । साउन २५ गते एसपीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

परीक्षणपछि मंगलबार आएको रिपोर्टमा एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ । एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गर्ने र अन्य प्रहरीहरुको पनि स्वाब लिएर परीक्षणको लागि पठाउने तयारी भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्