काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । दैनिक संक्रमण बढ्दै गएको उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । तर, एकचौथाइभन्दा बढी उपत्यकावासीले मास्क नलगाउने गरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका एक सय १०, ललितपुरका १६ र भक्तपुरका आठजना छन् । एक महिनायता संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् ।
उपत्यका रेडजोनमा परे पनि यहाँका बासिन्दाले कोरोनाबाट जोगिने न्यूनतम मापदण्डसमेत पालना नगरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा शिक्षित व्यक्तिलाई पनि मास्क प्रयोग गर्नेबारे सामान्य ज्ञान नभएको देखिएको छ । परिषद्ले व्यक्तिगत र संस्थागत गरी सात हजार दुई सय पाँचजनाको अध्ययन गरेको थियो । यो संख्याले उपत्यकाको प्रतिनिधित्व गरेको परिषद्ले जनाएको छ ।
परिषदले ९ साउनदेखि एक साता उपत्यकाका विभिन्न परिषद्ले व्यक्तिगत र संस्थागत गरी दुई तहमा अध्ययन गरेको थियो । व्यक्तिगत तहमा मास्क लगाएको, नलगाएको, मास्कको प्रकार र मास्क लगाउने तरिकाको अवलोकन गरिएको थियो ।
व्यक्तिगत रूपमा चार हजार पाँच सय दुईजनामा अवलोकन गर्दा मास्क लगाउने ७२.१ प्रतिशत भेटिएको हो भने नलगाउने २७.९ प्रतिशत भेटिएको थियो । सार्वजनिक स्थलमा जम्मा दुई हजार सात सय तीनजनामध्ये सही तरिकाले मास्क लगाउने ७२.६६ प्रतिशत रहेका थिए । ‘सार्वजनिक स्थलमा नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा झुन्ड्याउने, हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउने २७.३४ प्रतिशत पाइयो,’ डा. धिमाल भन्छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।