अनमोल भन्छन् ५० लाखको अफर आएको हो



सैघाली खबर,युवा स्टार अनमोल केसी अभिनीत पाँचौँ फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै साढे तीन मिनेट लामो ट्रेलरमा अनमोलको एक्सनलार्ई प्राथमिकता दिइएको छ ।प्रदर्शन मिति घोषणा गरेर पनि तीनचोटिसम्म पछि सरेको कृ अन्ततः माघ २६ गते प्रदर्शन हुने पक्का भएको छ । शुक्रबार राजधानीमा प्रेसमिट गरी कृको ट्रेलर देखाइनुका साथै फिल्मबारे विविध जानकारी दिइएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता अनमोल बडिगार्डका साथ उपस्थित भएका थिए । उनले कृ निर्माण टिमले आफ्ना लागि बडिगार्ड व्यवस्था गरेको बताए । झन्डै डेढ वर्षपछि आफ्नो फिल्म रिलिज हुन लागेकोमा आफू निकै उत्साहित भएको अनमोलले बताए । उनले भने, ‘झन्डै डेढ वर्षपछि मेरो फिल्म रिलिज हुँदै छ । म यो फिल्मबाट दर्शकको अझै धेरै माया र साथ पाउनेमा विश्वस्त छु ।’ उनले कृका लागि बडी र गेटअप बनाउन आफूले निकै मिहिनेत गरेको बताए । ‘रोमान्टिक लभ सिन त अघिल्ला फिल्महरूमा गर्दै आएको थिएँ । तर, यो फिल्ममा भने एक्सन बढी गर्नुपर्‍यो,’ उनले भने, ‘फिल्मका लागि मैले आफूलाई हरपल तयार राखेँ । राति तीन बजे फाइट हान्नुपर्दा पनि मैले उत्तिकै जोसका साथ काम गरेको छु ।’ अनमोलले कृ आफ्ना विगतका फिल्मभन्दा हरेक कोणबाट फरक भएको दाबी गरे ।

कृबाट डेब्यु गरेकी नवअभिनेत्री अदिति बुढाथोकीले आफूलाई दर्शकले यो फिल्मबाट हिरोइनका रूपमा स्वीकार गर्ने आस व्यक्त गरिन् । उनले अनमोललगायत अनुभवी कलाकर्मीको टिममा काम गर्न पाउँदा आफूले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

निर्देशक सुरेन्द्रले कृ बदलाको भावनायुक्त फिल्म भएको बताए । उनले फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको जिकिर गरे । त्यसैगरी, निर्माता भुवन केसीले कृ प्राविधिक रूपमा निकै उच्चकोटिको बनाइएको बताए । उनले आफू सधैँ गुणस्तरीय फिल्मको पक्षमा रहेकाले सोहीअनुसार फिल्म बनाउने गरेको स्मरण गराए ।फिल्मका अर्का निर्माता सुवास गिरीले कृ आफूले निर्माण गरेका विगतका फिल्मभन्दा हरेक तबरबाट उत्कृष्ट बनेको बताए । उनले फिल्मको सुटिङमै एक सयभन्दा बढी दिन लागेको र सोहीअनुसार खर्च गरिएको बताए । ‘कथाको मागअनुसार हिरो क्यारेक्टरमा उत्रिनु थियो । त्यसैले हामीले बीच–बीचमा रोक्दै सुटिङ गर्‍यौँ,’ सुवासले भने, ‘त्यसकारण सयभन्दा बढी दिन खिचियो । कृ सम्भवतः अहिलेसम्मको सबैभन्दा महँगो नेपाली फिल्म हो ।’

कृमा अनमोल र अदितिका साथमा सरोज खनाल, रूपा राना, कामेश्वर चौरसिया, अनुपविक्रम शाहीलगायतले अभिनय गरेका छन् । निर्देशक सुरेन्द्रकै कथा र सम्पादन रहेको कृ पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

५० लाखको अफर आएको हो।केही समयअघि अभिनेत्री झरना थापाका निर्माता पति सुनीलकुमार थापा र वितरक मनोज राठीले अनमोललाई ५० लाख रुपैयाँ अफर गरेको समाचार आएको थियो । उनीहरूले नयाँ फिल्मका लागि अनमोललाई ५० लाख रुपैयाँ पारिश्रमिक दिने प्रस्ताव राखेको, तर अनमोलले फिल्म खेल्न अस्वीकार गरेको कुराले निकै चर्चा पाएको थियो । त्यसबारे झरनाले आफूले अनमोललाई ५० लाख दिने अफर नगरेको भन्दै खण्डन गरेकी थिइन् । अनमोलले त्यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।

प्रेसमिटमा अनमोललाई सञ्चारकर्मीले त्यही प्रश्न तेस्र्याए । अनमोलले आफूलाई ५० लाख रुपैयाँको अफर आएको स्वीकार गरे । ‘म गसिपले होइन, कामले चिनिने इच्छा राख्छु । त्यसैले मैले काममा ध्यान दिएँ,’ उनले भने, ‘मलाई ५० लाखको अफर आएको हो । तर, म स्क्रिप्ट, टिम चित्त बुझे मात्र काम गर्छु । पैसाकै लागि काम गर्ने भए डेढ–दुई वर्षमा एउटा फिल्म किन खेल्थेँ रु म पैसाका पछि कहिल्यै लाग्दिनँ ।’ अनमोलले आफू थोरै होस्, तर गुणस्तरीय फिल्मका साथ आउन चाहने बताए ।बुबासँग सल्लाह लिन्छु
अनमोलले आफूलाई फिल्मको अफर आइरहने भए पनि कथा, टिम चित्त बुझे मात्र कुरा अघि बढाउने गरेको बताए । अनमोलको उक्त कथनमा सञ्चारकर्मीले ‘तपार्इंलाई यो फिल्म खेल, यो नखेल, फलानोसँग काम गर, फलानोसँग नगर भनेर बाबुले हस्तक्षेप गर्ने गरेको सुनिन्छ नि । के तपाईं होम प्रोडक्सनमा मात्र सीमित हुन खोज्नुभएको हो’ भनेर प्रश्न गरे । अनमोलले ती सबै कुरा निराधार भएको बताए ।

‘मैले अहिलेसम्म पाँचवटा फिल्ममा अभिनय गरेको छु । पाँचमध्ये तीनवटा बाहिरी ब्यानर, निर्देशकका छन् । बुबा आबद्ध ड्रिम्स र कृ मात्रै त हो नि,’ उनले भने, ‘बुबासँग सल्लाहचाहिँ गर्छु । उहाँले मलाई कुनै कुरामा हस्तक्षेप गर्नुहुन्न । त्यत्ति कुरा यत्ति हो कि मलाई चित्त बुझनुपर्‍यो । चित्त बुझ्यो भने म जोसँग पनि काम गर्न तयार छु ।’

बाबु भुवनले पनि आफूले अनमोललाई फिल्मको मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने गरेको बताए । ‘उसलाई चित्त बुझ्यो भने काम गर्छ । मैले उसलाई कहिल्यै पनि यो फिल्म गर, यो नगर भनेर दबाब दिने गरेको छैन,’ उनले थपे, ‘तर, यत्ति हो कि म उसको बाबु मात्र नभई ऊभन्दा सिनियर कलाकार हुँ । त्यसैले उचित सुझाब–सल्लाह भने दिने गर्दछु ।अनमोल मेगास्टार
कार्यक्रम सञ्चालक नरेश भट्टराईले अनमोललाई मेगास्टार भनेर सम्बोधन गरे । उनले नेपालमा अरू पनि सुपरस्टार भएको, तर अनमोलजस्तो क्रेजयुक्त हिरो नभएकाले उनलाई उप्रान्त मेगास्टार भन्न सबैलाई आग्रह गरे ।

‘अनमोलका अहिलेसम्मका सबै फिल्म सुपरहिट छन् । उनी सर्वाधिक क्रेज भएका एक मात्र युवा हिरो हुन् । त्यसैले अब उनलाई मेगास्टार भनेर सम्बोधन गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ नरेशले थपे, ‘मैले चार वर्षको उमेरमै अनमोलको अन्तर्वार्ता लिएको थिएँ । त्यतिवेलै मैले अनमोल भतिज भविष्यको सुपरस्टार बन्छ भन्ने अनुमान लगाएको थिएँ । आज आफैँले मेगास्टार भनेर घोषणा गर्दा खुसी लाग्यो ।’ नरेशले अनमोलको स्टारडम लोभलाग्दो भएकाले उनीप्रति सबैले गर्व गर्नुपर्ने राय राखे ।

कान्छीअघि नै हलसँग सम्झौता
अभिनेत्री श्वेता खड्काले आफ्नो फिल्म ‘कान्छी’ माघ २६ मा प्रदर्शन गर्ने घोषणा गरेकी थिइन् । उनले कान्छीको शुभमुहूर्तमै ९साउन अन्तिम० प्रदर्शन मिति तोकेकी थिइन् । कृ भने पहिला भदौ १६, त्यसपछि भदौ ८ अनि कात्तिक ३ मा प्रदर्शन हुने खबर आइरह्यो । तर, तीनचोटि प्रदर्शन मिति तोक्दासमेत कृ हलमा आएन । अन्ततः कृ माघ २६ मा रिलिज हुने पक्का गरियो ।

श्वेताले आफूले पहिला प्रदर्शन मिति तोकेकाले नजुधाइदिन कृका निर्माता भुवनसँग आग्रह गरिन् । तर, उनले पछि हट्न मानेनन् । त्यसपछि भने श्वेताले आफ्नो फिल्म एक साता पर सारिन् । आकाश अधिकारी निर्देशित कान्छी फागुन ४ मा प्रदर्शन हुनेछ । कृ भने एकल प्रदर्शनमा आउने भएको छ । फागुन ४ मा कान्छीको भिडन्त नवल नेपाल निर्देशित छवि ओझाको ‘मंगलम्’सँग हुनेछ।

सञ्चारकर्मीले कृका निर्माता भुवन र सुवासलाई ‘पहिला नै रिलिज मिति तोकिएको कान्छीसँग जुधाउने कोसिस किन गर्नुभएको थियो’ भनेर सोधे । पटक–पटक घोषणा गरे पनि सुटिङ तथा प्राविधिक कार्य नसकिएकाले कृ प्रदर्शनमा आउन नसकेकाले आफूहरूले कान्छीको सुटिङ सुरु नहुँदै माघ २६ लाई मिति तोकेको दाबी निर्माता सुवासले गरे । उनले आफूहरूले अधिकांश हलसँग माघ २६ मा कृ लगाउने सम्झौता गरेको बताए । ‘हामीले हलसँग पहिला नै सम्झौता गरेका थियौँ । त्यसैले हामी जुध्न आएको भन्नु गलत हो । कसैले प्रमाण खोज्छ भने म हलसँग भएको सम्झौतापत्र देखाउन तयार छु ।’

भुवनले आफ्नो फिल्म एक साता पर सारेकोमा अभिनेत्री तथा कान्छी निर्मात्री श्वेतालाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘हामीले माघ २६ मा कृ ल्याउने तयारी पहिला नै गरेका थियौँ । श्वेता बहिनीले आफ्नो फिल्म सारेर हामीलाई सिंगल आउने वातावरण बनाइदिएकोमा धन्यवाद । नेपाली फिल्म एक–अर्कामा जुध्नु आफैँमा राम्रो होइन । म उहाँको फिल्मको सफलताको शुभकामना व्यक्त गर्दछु ।’

पद्मावतीसँग भिड्न तयार
कृले कान्छीलाई एक साता पर सारेको भए पनि सो मितिमा सञ्जयलीला भन्सालीको पद्मावती रिलिज हुने चर्चा चलेकोबारे सञ्चारकर्मीले भुवनसमक्ष जिज्ञासा राखे । ‘पद्मावती त्यही मितिमा रिलिज भयो भने कृ के हुन्छ रु’

भुवन तात्तिए, ‘हामी गुणस्तरीय फिल्म बनाउँछौँ । हाम्रो प्रतिस्पर्धा स्वेदशी फिल्मसँग होइन । म त नेपाली–नेपाली फिल्म जुधाउनुहुन्न भन्ने पक्षमा छु । र, मैले कहिल्यै फिल्म जुधाउने गरेको पनि छैन ।’ उनले थपे, ‘हाम्रो प्रतिस्पर्धा मुख्यगरी हिन्दी फिल्मसँग हो । कृको डेटमा जुनसुकै हिन्दी, अंग्रेजी फिल्म आए पनि हामीलाई केही फरक पर्दैन ।’

उनले विगतमा केही नेपाली फिल्मले ठूलो ब्यानरका भनिएका हिन्दी फिल्मलाई ढालेको उदाहरण प्रस्तुत गर्दै कृ कुनै पनि हिन्दी फिल्मसँग जुध्न तयार रहेको जिकिर गरे । सुवासले पनि माघ २६ मा जुनसुकै हिन्दी फिल्म रिलिज भएपछि कृ पछि नहट्ने दाबी गरे ।’

 

स्रोत ;नया पत्रिका

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्