बूढीगंगा नदीको बाढीले झोलुङ्गे पुल बगाउँदा सिङ्गै गाउँ नै सम्पर्क बिहिन



बाजुरा /२८ साउन।
बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँ नै सम्पर्कविहीन बनेको छ । उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ ।

झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताइन ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ ।

हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले जानकारि दिए ।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ ।

पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको छ । बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन सकेका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्