यादव सैघाली । संसारमा प्रविधिको विकास तिब्र भएसँगै नेपालमा पनि यसको प्रभाव निकै परेको छ । प्रविधिको प्रयोग गरेर चलाइने सञ्चारमाध्यमहरु यो दशकमा निकै बृद्धि भएका पनि छन् । सूचना र प्रविधिको विकाससँगै यसमा विकृतिपनि भित्रिने कुरालाई अस्वभाविक मान्न सकिन्न । हिजो र आज पनि छापा माध्यममा विकृति छैनन् भन्न खोजिएको होइन तर हाल निकै चर्चामा रहेको विद्युतीय सञ्चार माध्यमहरुबाट प्रकाशित र प्रशारित विषय वस्तुहरुमा पनि निकै विकृतिहरु देखिएका छन् ।
सामाजिक सञ्जालहरुपनि नयाँ मिडियाकोरुपमा विकास भइरहेको अवस्थामा मिडिया साना र ठूला भन्ने अवस्था छैन तर सञ्चारमाध्यमका किसिम भने पक्कै नै हुन्छन् । यो कसैलाई आरोप लगाउन खोजिएको होइन । समाजमा सहयोगी मनका मानिसहरुपनि हुन्छन् र दुःखीका आँशु बेचेर खाने मानिस पनि हुन्छन् । केही समय यता युटुब र फेसबुकहरुमा राखिने धेरै सामाग्रीहरुले मानिसहरुलाई हाम्रो समाज कता जाँदैछ भनेर सोंच्नुपर्ने बनाएको छ । विहान उठ्न पाको छैन, फेसबुकमा मारिएको मान्छेको तस्विर देख्नु पर्ने बाध्यता छ । यो फेसबुकको गल्ती होइन न त उसका प्रयोगकर्ताको नै ।
सामाजिक सञ्जालहरुले समाजमा भए, गरेका घटनाहरुलाई समाजमा पस्कने हो तर पछिल्लोचरणमा यस्तो लाग्न थालेको छ की सामाजिक सञ्जालहरु नै न्यायाधीश बन्दै छन् । यस्तो लाग्छ की फेसबुक चलाउने मान्छे नै सबभन्दा जान्ने विद्धान हो । लाग्छ नयाँ मिडिया विद्युतीय सञ्चारमाध्यम (युटुब र यस्तै अन्य माध्यमहरु)का कार्यक्रम प्रस्तोता नै न्यायाधीश हुन् । उनीहरु नै कसैलाई दोषी करार गरिहेका छन् र कसैलाई निर्दोष सावित गरिरहेका छन् । यस्तो प्रवृति राम्रो होइन । फेरि यो उसको पनि पुरै गल्ती होइन । यसमा राज्यकोपनि गल्तीको भाग हुन्छ । किनकी आफ्ना नागरिकलाई जिम्मेवार बनाउने त राज्यको दायित्व हो ।

यसैबीच दाङमा कृयाशील केही महिला अधिकारकर्मीहरुले केही विद्युतीय सञ्चार माध्यमहरुले पस्केका केही सामग्रीलाई लिएर प्रतिकृया दिइरहेका छन् । उनीहरुले आज एक विज्ञप्ति मार्फत् मिडियाहरुलाई लैंगिक विषयमा संवेदनशील बन्न सुझाव दिएका छन् । विज्ञप्तिमा समाजमा भएका केही घटनामा अन्तरवार्ता लिँदा केही मिडियाहरुले अपराधलाई नै प्रश्रय दिने जस्ता कार्य भएकोप्रति यस्तो नगर्न आग्रह पनि गरिएको छ । यो विषय बहस गर्ने भन्दा व्यवहारमा लागु गर्ने विषय हो । नेपालको पत्रकारिताको इतिहास हेर्दा चलचित्र नायिकाको नग्न तस्विर पत्रिकामा छापिएकै कारण आत्महत्या गरेकासम्मका इतिहास पनि छन् तर ती इतिहासबाट पाठ सिक्दै अब त्यस्ता घटना नहोउन भन्नेतिर पत्रकारहरु र मिडिया सञ्चालकहरु संवेदनशील बन्नै पर्छ ।
घटना जे जस्ता भएपनि नेपालमा हाल र हिजोपनि राज्य नै आफै अराजक तरिकाले चलेका कारण पनि मानिसहरुमा जे गरेपनि हुन्छ भन्ने भावना पलाएको हो । किनकी समाजमा हुने हरेक घटनाका दोषीलाई कानुनी कारवाही गर्दैमा घटना नहुने होइन । कारवाही गर्दैमा घटना नहुने भए हालसम्म कतिजनालाई राज्यले कारवाही गरेहोला ? कतिजना अपराधि जेलमा होलान ? जेलमा राख्दैमा समाजमा हिंसा वा अन्य घटना नहुने होइन ।
यो त राज्यले एउटालाई कारवाही गरेर धेरैलाई तर्साउने तरिका मात्र हो । यसरी तर्साएर मात्र समाजमा अपराधको मात्रा घट्ने होइन । बरु अपराध घटाउन त राज्यले नै सबै नागरिकलाई जिम्मेवार बनाउनु पर्छ । तर प्रशिक्षण दिँदैमा मानिस जिम्मेवार बन्ने पनि होइन । केही सिक्ने भने हो । सिक्नु र व्यवहारमा लागु हुनु फरक कुरा हो । सामाजिक, आर्थिक र राज्यका हरेक अंगहरुमा सबैको समान अधिकार सहित सबैलाई आपसमा अन्तरघुलन हुने वातावरण नहुँदासम्म घटना भइ रहन्छन् । व्यक्तिगतबाट सामाजिक स्वार्थतिर सिंगो समाज नै ढल्किने हो भने अपराध गर्न ऊ आफैलाई लाज लाग्छ । त्यसकारण समाजप्रति जिम्मेवार व्यवस्था (समाजवाद)को परिकल्पना गरिएको हो ।
त्यसकारण हालको नेपाली समाज सामाजिक(समाजवादी) होइन, पूँजीवादले ग्रस्त रहेको र समाजप्रति आफ्नो कुनै जिम्मेवारी पुरा गर्नु नपर्ने तर व्यक्तिगत प्रतिष्ठा र लोभको लागि समाजमा जे पनि गर्न तम्सिने प्रवृति भएकोले यस्तो समाजमा हुने घटनाहरु पनि मिडिया आउनु स्वभाविकै हो । पूँजीवादी समाज संसारभर छाडा र पैसाको लागि मान्छेको ज्यान लिनेसम्मको अपराधमा मान्छेलाई प्रेरित गर्ने समाज व्यवस्थालाई प्रोत्साहन होइन दुरुत्साहन गर्ने गरी सञ्चारमाध्यमहरुले भूमीका खेल्नुपर्छ ।
यदि समाजमा अपराध हुन्छ भने त्यसको कारण व्यक्तिमा होइन समाजिक व्यवस्थामा खोज्नु पर्छ । अपराध गर्ने व्यक्तिलाई त सजाय होला तर अपराध गर्न सिकाउने व्यवस्थालाई कस्ले कारवाही गर्ने ? त्यस्तो व्यवस्थालाई भण्डाफोर गरेर साइजमा ल्याउने प्रतिपक्ष नै मिडिया हो । त्यसकारण मिडियाले अपराधलाई प्रोत्साहन होइन दुरुत्साहन हुनेगरी प्रहार गर्नु पर्छ । त्यसैले अबको ध्यान मिडियाले पस्केका विषय वस्तुतिर पनि हो तर राज्यले समाजमा अपराध हुनबाट रोक्न लिएको नीतितिर पनि लगाउनु पर्छ । त्यसमा मिडियाको तर्फबाट हुनुपर्ने सहयोग त हुनै पर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।