काठमाडौं । केहीदिन अघि काठमाडौंको गोंगबुमा भएको दाङका कृष्णबहादुर बोहराको हत्यामा प्रहरीले आर्थिक लगायत अन्य पाटो खोतल्न सुरु गरेको छ । परिवारका सदस्य प्रहरीको सम्पर्कमा आएपछि आर्थिक विषयमा अनुसन्धान गर्न थप सहज हुने अनुमान प्रहरीको छ । यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको प्रहरीले जानकारी गराएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको बताए । गत आइतबार गोंगबुमा बोहोराको टाउको र शरीरको भाग छुट्टाछुट्टै अवस्थामा प्याकिङ गरिएको अवस्थामा फेला परेको थियो । हत्यामा संग्लन आरोपमा प्रहरीले चितवन कालिका नगरपालिका–७ घर भइ हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरिसकेको छ । कल्पना मोडलिङ क्षेत्रमा समेत काम गर्दै आएको खुलेको छ । हत्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् ।
शव व्यवस्थापन गर्नका लागि छोरीको सहयोग लिनुपरेको उनले बयानमा उल्लेख गरेको भए पनि हत्यामा छोरीको संलग्नतालाई उनले अस्वीकार गरेकी छन् । प्रहरी अनुसन्धानका क्रममा कल्पना र बोरहराबीच करिब ४ वर्षदेखि चिनाजान थियो । उनीहरुबीचमा अवैध सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ । प्रहरी अनुसन्धानकाक्रममा कृष्णबहादुर बोहरा कल्पनाको कोठामा बेला बेलामा आइ भेट्ने गरेको पाइएको छ ।
बोहराले कल्पनाको फोटो राखी फेक फेसबुक आइडी खोलेर चलाउने गरेको र त्यसमा अश्लील तस्बिरहरु पोष्ट गर्न थालेपछि आफूले हत्या गरेको प्रहरीसँगको साविति बयानमा भनेकी छिन् । यसबाहेक उनले आफ्नी छोरीमाथिसमेत गलत नजर लगाएकाले हत्या गर्नुपरेको बयान दिएकी छन् तर विभत्स हत्याका पछाडि अन्य कारण पनि हुनसक्ने प्रहरी आशंका छ । जसको खोजी प्रहरीले गरिरहेको छ । मृतक बोहराका परिवारका सदस्यबाट थप कुरा खुल्नसक्ने प्रहरी अनुमान छ । आर्थिक पाटो जोेडिएकाले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे कल्पनाले कुनै कुरा बोलेकी छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।