आज दिनभरका मुख्य–मुख्य समाचारहरु



आजदेखि काठमाडौं आउन-जान पूर्ण रोक

कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।

अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको बताए। उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन्। गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।

पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।

 यही पाराले न्यायपालिका दश वर्ष सुध्रिन्न

काठमाडौं । श्रीमती हत्यामा तीनै तहको अदालतबाट दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको सर्वस्वसहित जन्मकैदको सजायलाई साढे ८ वर्षमा झार्ने सर्वोच्च अदालतको फैसलाको व्यापक आलोचना भयो ।

चौतर्फी आलोचनापछि फैसलाको विरुद्धमा सरकारले न्यायिक पुनरावलोकनमा जाने निर्णय गर्‍यो । र, सर्वोच्चले यो मुद्दाको पुनरावलोकन गर्ने निर्णय पनि गरिसकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चबाटै यस्तो आलोचित फैसला हुनुलाई न्याय क्षेत्रका जानकारहरूले अर्थपूर्णरुपमा लिएका छन् । यसबारे नेपाल बार एशोसिएसनले औपचारिक छलफल नै गरिसकेको छ ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा एक महिलाको ज्यान गएको घटनाका अभियुक्त पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्ने सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलाशको आदेशबारे पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

‘बाघ कराउनु, बाख्रा हराउनु’ भनेजस्तो अदालतको फैसलाबारे आलोचना भइरहेका बेला नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतलाई न्यायालय सुधार सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ ।

 डबल एजेन्ट इल्ताफको सुनमा अपत्यारिलो कनेक्सन

भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ), इन्टेलिजेन्स ब्युरो (आईबी) र पाकिस्तानी गुप्तचरी संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) दुबैसँग निकट रहेको दाबी गरिएका बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको मोस्ट वान्टेड एवं विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत निगरानीको सूचीमा रहेका अन्सारी  बाराबाट पक्राउ  परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले पक्राउ गरेको प्रदेश नं। २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । ‘पर्सा प्रहरीले उनलाई पक्राउ गरेको छ, थप अनुसन्धानका लागि अपराध महाशाखा, काठमाडौं पठाउँछौं’, उनले भनेका छन् ।

सिंहका अनुसार मोटरसाइकलमा हिँडिरहेका बेला अन्सारी पक्राउ परेका थिए । हाल अन्सारीमाथि १५ किलो सुनचाँदी कारोबार र अवैध हातहतियार बोकेको अभियोग लगाइएको छ ।

प्रकरणमा संलग्न देवान पटेल, विजय पटेल र निलेश सखियालाई अपराध महाशाखाले यसअघि नै पक्राउ गरिसकेको छ । निलेश र सञ्जय पटेल भारतबाट बारा हुँदै नेपाल प्रवेश गरेका थिए । त्यहीँबाट उनीहरु अन्सारीको गाडी लिएर काठमाडौं आएको खुलेको थियो ।

निलेश र सञ्जयले गुजरातमा सुन व्यापार गर्ने गरेको प्रहरी दाबी छ । प्रकरणमा पक्राउ परेका देवान पटेल र कौशल पटेल काठमाडौंमै बस्ने भए पनि भारत, राजस्थानका स्थायीवासी हुन् ।

क्वारेन्टिनमा मृत्यु प्रकरणः परिवारलाई दश लाख, श्रीमानलाई जागिर

कृष्णपुर । क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले रु १० लाख सहयोग उपलव्ध गराउने भएको छ । मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ ।

नगरपालिकाले सहयोगसँंगै मृतक ओडका श्रीमान्लाई योग्यताका आधारमा कार्यालयमा जागीर दिने सहमति गरेको छ । यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र सङ्घ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिनका लागि समिति गठन गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाका प्रमुख कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरीले ओडको मृत्यु भएपछि नगर प्रमुखले सार्वजनिक रुपमा गरेको प्रतिवद्धतानुसार सहयोग गरिएको बताए ।

आज बिहान नगर प्रमुख हमाल र सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीलगायतले मृतक ओडका घरमै पुगेर किरिया खर्चवापत रु २५ हजार परिवारका सदस्यलाई हस्तान्तरण गरेको थियो । मङ्गलबार कृष्णपुर– ६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर ओडको मृत्यु भएको थियो । स्थानीय बासिन्दा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीले नगरपालिकाको कार्यालयसमेत तोडफोड गरेका थिए ।

 कोरोनाका कारण चार जनाको मृत्यु

कोरोना संक्रमणबाट बाराको दुई तथा धनुषा र अछामका एकएक जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुषमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । ४र५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएका उनलार्इ बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि नेशनल मेडिकल कलेज पुगेका उनको मध्यान्ह नारायणी अस्पतलमा रिफर गरिएको थियो ।

भेन्टिलेटरमा उपचाररत उनको बिहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा। उदयनारायण सिंहले जानकारी दिए ।

 भैंसी व्यापारी र प्रहरीबीच झड्प, १२ राउण्ड हवाई फायर

रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबी झड्प हुँदा १२ राउण्ड हवाइ फायर भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाईरस महामारीको रुप लिएपछि गत चैत ११ गतेदेखि लगातार  भारतीय सीमानामा पुर्नरुपमा निषेध गरिएको छ ।

भारतबाट चोरिलुकी भित्रयाएको भैंसी नियन्त्रणमा लिन खोजेपछि  भैसी व्यापारी र प्रहरीबीच राजपुर नगरपालिकामा झड्प भएको थियो । झडपमा प्रहरीले १२ राउण्ड हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको हो ।

भारतसँग जोडिएका औरैया र रामपुर खापको चोर बाटो भएर व्यापारीहरुले ५८ वटा भैसी नेपाल भित्रयाएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याएका थिए ।

कुडिया बजार नेपाल भारत सिमा क्षेत्र भन्दा करिव ५ किलोमिटर उत्तरमा रहेको बजार क्षेत्र हो जहाँ राँगा भैसीहरु भारतबाट तस्करीको माध्यमबाट ल्याएर काठमाण्डौ, पोखरा लगायत मुलुकको विभिन्न स्थानमा पठाउने गर्दछ ।

भैंसी ब्यापारी र प्रहरीबीच झडप भएको मौका छोपी भित्रयाइएको भैंसी सबै गाउँ गाउँ तिर भगाएको ईलाका प्रहरी कार्यालय राजपुरका सई दिपक गुप्ताले जनाएको छ ।

 बलात्कारीलाई साढे सात वर्ष कैद

दमौली । जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले साढे सात वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको आजको इजलासले घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो । साथै पीडित महिलालाई पीडकबाट रु ५० हजार क्षतिपूर्ति तिराउने फैसला भएको अदालतका निमित्त स्रेस्तेदार जीवन पौडेलले जानकारी दिए । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए । निजविरुद्ध विसं २०७६ फागुन २ गते  अदालतमा जबर्जस्ती करणी गरेको भनी मुद्दा दर्ता भएको थियो ।

 ओलीलाई मार्न भारतबाट सार्पसुटर आउँदै छ भन्दै अवफाह फैलाउने पक्राउ

काठमाडौं । आफूलाई पत्रकार दावी गर्ने सुनिल शर्मालाई प्रहरीले पक्रेको छ । बिराटनग घर भएका ५४ वर्षीय शर्मालाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

आफूलाई दैनिक भारत र भारतको पत्रकार दावी गर्ने शर्माले नेपाल–भारत सीमा विवादपछि नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए । विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ समेत दावी गर्ने शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए ।

 फेसबुकले ७० लाख भ्रामक पोस्ट हटायो

कोरोना भाइरसबारे भ्रामक र गलत जानकारी फैलाउने पोस्टलाई फेसबूकले हटाउन थालेको छ । सामाजिक सञ्जाल फेसबूकले मंगलवारसम्म करीब ७० लाख गलत सूचना दिने पोस्ट हटाएको जनाएको छ । तीमध्ये कति पोस्ट कोरोना भाइरसबाट बच्ने उपायबारे गरिएका पोस्टहरू रहेको जनाइएको छ ।

फेसबुकका अनुसार कम्पनीले रिपोर्ट गरिएका ती पोस्टहरूको विश्वसनीयता थाहा पाउनका लागि विशेषज्ञलाई पनि बोलाएको थियो ।

फेसबूक पहिलेदेखि नै आफ्नो प्लेटफर्ममा देखिने भ्रामक र गलत समाचार रोक्ने प्रयासमा छ । साथै फेसबूकले यस्ता पोस्ट हटाउन निरन्तर काम गर्ने पनि जनाएको छ । फेसबूकले आफ्नो फ्ल्यागशीप एपका माध्यमबाट घृणा फैलाउने २ करोड २५ लाख भाषण पनि हटाएको छ ।

आज ५२५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २४,९५७

पछिल्लो २४ घण्टामा नेपालमा ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमित ८ हजार २५ रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ८३७ पुगेको छ। यो कुल संक्रमित मध्ये ६८.४ प्रतिशत हो। मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८ रहेका छन्।

त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। प्रवक्ता गौतमका अनुसार मृतक मध्ये ७३ पुरुष र २२ महिला रहेका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्