दाङ / ३० साउन।
कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा साँझ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपले बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्ण रुपले बन्देज लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ ।
जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरु सहितको जिल्ला अनुगमन समिति गठन गरेको वैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।
यस विषयमा प्रमुख जल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजि गरिएको बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।