डोटी /०१ भदौ।
डोटी सहित सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व मध्येको एक ‘ओल्के’ पर्व धुमधामका साथ मनाईदैछ । हरेक वर्ष भदौ संक्रान्तीमा ओल्के मनाईन्छ ।
आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरंजन गरी ओल्के मनाईदैछ ।
बिपत्तीको समयमा ज्यान जोगिएको खुशियालीमा मनाईने यो पर्व लाई ‘ओल्के’ भनिन्छ । ‘ओल्को’ भन्नाले ‘ओलक’ अर्थाद् सौगात, उपहार वा कोसेली भन्ने बुझिन्छ । ओल्कोमा मान्यजनलाई हरियो साग (मुख्यतयाः कर्कलाको गाभा) र फलफुल दिईने गरिन्छ । यसबाहेक अन्न, दुध, दही, घ्यू, गूड र पक्वान्न आदी पनि दिईन्छ । शिल्पकारहरुले आफुले बनाएका सामानहरु पनि दिने गर्दछन् ।
नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् । यसरी ओल्को दिन आएकाहरुलाई मान्यजनहरुले आफुसंग भएको मिठोमसिनो खुवाएर पठाउछन् । यो पर्वमा रमाईलोका लागि धेरैजसो ठाउँमा पिङ समेत खेल्ने गरिन्छ ।
शनिबार देखि सुदूरपश्चिम प्रदेशमा आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ दिएर, मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरंजन गरी ओल्के पर्व मनाईदैं छ ।
परापुर्व कालदेखी नै यस क्षेत्रमा ‘मरुला भनेर ‘बिशु’ खानु, बाँचे भनेर ‘ओल्के’ खानु’ भन्ने किम्वदन्ती छ । बर्षायामका बैशाख, जेठ, असार र साउन महिना रोगव्याधि तथा महामारी फैलने, विभिन्न किसिमका प्राकृतिक बिपत्तीका महिना मानिन्छन् । यस्तो संकटग्रस्त महिनामा मरिन्छकी भनेर बैशाख सक्रान्तीमा बिशु मनाउने र भदौ सक्रान्तीमा ओल्के मनाउने प्रचलन रहिआएको जानकारहरु बताउछन् ।
बिशु र ओल्के प्राकृतिक परापुर्व कालमा फैलने बिपद्संग सम्बन्धीत पर्व हुन्’ पण्डित तोयानाथ भट्टले भने,‘यी पर्वहरुको धार्मिक मान्यता खास्सै रहेको पाईदैन ।’ उनका अनुसार विपत्तीको समयमा आफ्ना परिवारका सदस्य नरहन सक्छन भनेर बिशु मनाउने प्रचलन रहेको हो, भने बिपत्तीको समयमा ज्यान जोगिएको खुशियालीमा भदौ संक्रान्तीमा ओल्के पर्व मनाउने गरिन्छ ।’
ओल्के सुदूरपश्चिमको मौलिक पर्व हो । यो पर्व यो क्षेत्रका नौ वटै जिल्ला बाहेक यस क्षेत्रसंग जोडिएका भारतका कुमाउ र गढवाल तिर पनि मनाईन्छ । ओल्केकै अवसरमा साउन मसान्तीको राती हातमा ‘भंगिरी’(एक प्रजातीको फुल)को बोटमा मजेटी लगायतका जडिबुटीहरु एकै ठाउँमा पिसेर हातमा लाउने प्रचलन छ ।
ओल्केको दिन भंगिरी लगाएको हातले मिठो परिकार खाएर भंगिरी चोख्याईन्छ । यसो गरे छालाको रोगको समस्या निको हुने र संक्रमणबाट पनि बच्न सकिने जनविश्वास रहीआएको छ । पछिल्ला वर्षहरुमा भंगिरीको ठाउँ मेहन्दीले लिदै गएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।