आफ्नै बुवा मरेपछी अनुहार हेर्न र किरिया गर्न नदिने विरुद्ध मुद्धा दर्ता



आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिनेहरु विरुद्ध इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले आज जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् ।

११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर आज घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई मुद्धा दर्ता गरेकी हुन् ।

विवाहपछि आफ्नो माईती पक्षबाट पटक–पटक विभेद र अपमान सहनुपरेको स्मरण गर्दै यामकला गहभरी आँशु पारेर भन्छिन्– “माइती घरमा सँगै बसेर काजकिरिया गर्ने त कुरै छाडौं, मरेर मुडोजस्तो लडाएर राखिएको बुवाको अनुहार समेत हेर्न दिएनन् ।” “आजको २१औं शताब्दीको युगमा पनि दलितसँग विवाह गरेकै कारण मैले जे सहनु र भोग्नु प¥यो त्यो भावी पुस्ताले भोग्नु नपरोस्” उनले भनिन्– “म यहाँसम्म न्यायको भिख माग्न आएकी हुँ ।”

आफूलाई न्याय दिन र पींडितलाई हदैसम्मको कानूनी कारबाहीको मागसहित यामकलाले आज दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय इलामले आज नै दर्ता गरेको प्रहरी उपरिक्षक नवीनराज राईले बताए । घटनाको सत्यतत्य अनुसन्धान गरेर जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने उनले बताए । जिल्ला प्रहरी कार्यालय इलामको दर्ता नं. २२ मा यामकलाको जाहेरी दर्ता गरिएको प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताए ।

अधिकारकर्मी नवराज शंकरले माई नगरपालिका वडा नं. २ मा दलित समुदायको युवासँग विवाह गरेकै कारणले भएको घटना दुःखद् एवं निन्दनीय भएको बताए । “यो घटना सामाजिक दृष्टिकोणले अमानवीय र कानूनी दृष्टिकोणले दण्डनीय अपराध हो ।” उनले भने– “घटनाको सत्यतथ्य छानवीन गरेर पींडितलाई न्याय दिलाउनुपर्दछ र दोषीलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्दछ ।” जातीय भेदभाव मानव समाजको कलंक हो, विकास र समृद्धिको बाधक भएको बन्दै अधिकारकर्मी शंकरले कसलाई अछूत बनाएर, कसैलाई विभेद र अपमान गरेर समृद्ध र समतामूलक समाज नबन्ने ठोकूवा गरे ।

दलितसँग बिवाह गरेकै कारण विभेद भाग्न बाध्य पारिएकी यामकलाका ३ जना सन्तानहरु रहेका छन् । यामकला माई नगरपालिकाकी उपमेयर एवं नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी बिष्णुमायाँ आचार्यकी सहोदर भतिजी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्