९८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु



धुलिखेल  । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको मृत्यु भएको छ। मंगलबार बिहान राति साढे १२ बजे धुलिखेल नगरपालिका-६ का रामचन्द्र भिनाजू श्रेष्ठको मृत्यु भएको हो।

उनको स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या थियो। प्लाज्मा थेरापी उपचारबाट वृद्धलाई बचाउन आफन्त लागिपरे पनि समयमै रगत नपाइएका कारण बुवालाई गुमाउनु परेको कान्छा छोरा रामेश्वर श्रेष्ठले बताए।

मृतक श्रेष्ठलाई नयाँ बानेश्वरस्थित घरमा रहँदा कोरोना संक्रमणको लक्षण देखिएको थियो। धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालको आइसियूमा राखिएको थियो।

श्रेष्ठ साउन २६ गते धुलिखेल अस्पताल भर्ना भएका थिए। ‘हामीले त यो थेरापीबाट उपचार हुन्छ भन्ने तीन-चार दिनअघि मात्र थाहा पायौं, त्यसपछि रगत खोज्न लाग्यौं,’ छोरा रामेश्वरले भने, ‘तर, भेट्न सकेनौं, अस्पतालले पनि खासै पहल गरिदिएन।’

वृद्धको रोग प्रतिरोधक क्षमता कमजोर थियो। रोग प्रतिरोधक क्षमता कमजोर रहेकाहरूको लागि तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव थियो। तर, आवश्यक पर्ने रगत अभावका कारण उनको समयमै उपचार हुन नसकेको छोरा रामेश्वरले बताए।

वृद्धलाई ए प्लस पोजेटिभ रगत चाहिएको थियो। प्लाज्मा थेरापीका लागि जुन रक्त समूहको बिरामी हो, त्यससँग मिल्ने समूहको पनि निको भइसकेको संक्रमितको रगत चाहिन्छ। वृद्ध बानेश्वरको घरमै बस्थे। बाहिर नजाने गरेका उनीसँग छोराबुहारी रेखदेख र सम्पर्कमा थिए। ती दुवै जनाको पिसिआर पोजेटिभ देखिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्