सर्लाहीको गणना नसकिँदा समानुपातिकतर्फको परिणाम घोषणामा ढिलाइ



सैघाली खबर,काठमाडौं ,२ पुस, । प्रदेश तथा प्रतिनिधिसभाको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणामा ढिलाइ भएको छ । आयोगको लक्ष्य अनुसार गणनाले गति लिन नसकेपछि परिणाम घोषणामा केही बिलम्ब भएको हो ।

समानुपातिकतर्फ अब सर्लाहीको १ क्षेत्रको मात्रै गणना बाँकी छ । आयोगका अनुसार, चिसोका कारण शनिबार रोकिएको यहाँको गणना आइतबार बिहानैदेखि सुरू भएको छ ।

प्रत्यक्षतर्फको गणना बुधबार नै सकाएको आयोगले सर्लाहीको गणना सकिएलगत्तै समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

मतगणनाको पछिल्लो परिणाममा एमालेलाई ४९ हजार ६५२ मतको अन्तर मिलेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५ मत हासिल गर्दा नेपाली कांग्रेस ३१ लाख ११ हजार ६४३ मतका साथ उसलाई पछ्याइरहेको छ । नेकपा ९माओवादी केन्द्र० को पक्षमा हालसम्म १२ लाख ९५ हजार ९०३ मत परेको छ ।

समानुपातिकतर्फको गणनामा सुरूदेखि नै राष्ट्रिय जनता पार्टी नेपाललार्इ पछि पारेको संघीय समाजवादी फोरम नेपाल गणना अन्तिम चरणमा आइपुग्दा पछि परेको छ । अन्तिम परिणाममा राजपा चार लाख ७० हजार ४८६ मत बटुल्न सफल भएको छ भने संघीय समाजवादी फोरमको पक्षमा चार लाख ६९ हजार ४६१ मत परेको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।

दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्