टप फिचर

मानवता

By Thaha - Online

August 20, 2020

~~ मानवता ~~

रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ? सकारात्मक सोचका पालुवाहरु ! अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर दरिद्र सोचाइहरुमा रमाएर छुद्र बोली बोल्दै भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट खै कहिले निस्किएलान् ? महझैँ गुलिया शब्दहरु !!

अन्यायको अँध्यारो सुरुङबाट उद्दारको प्रतीक्षामा थरथरी काप्दै सहारा मागीरहेका हातहरुलाई गरिबीले थकित भएकाहरूको आर्तनादलाई सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले खै कहिले हटाउलान् ? वर्गीयताको तुलोमा जोखिने बिभेदहरु ! मेहनत रोपी पौरख फलाउनेहरुमाथि रजाइँ गरेर हीनताबोधको हिलो छ्याप्दै ठालु पल्टिनेहरुले आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा धनको गुलियो वरिपरि फनफनी घुमिरहेकाहरुले खै कहिले चढ्लान् ? विवेकका अग्ला अग्ला शिखरहरू !!

~~समाप्त~~

मुकुन्द कृष्ण थापा खोटाङ (मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )