आज दिनभरका मुख्य–मुख्य समाचारहरु



कार्यदलले शुक्रबारसम्म प्रतिवेदन तयार पार्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शीर्ष तहमा देखिएको विवाद समाधानको प्रस्ताव तयार पार्न बनेको कार्यदलले शुक्रबारसम्म निष्कर्ष निकाल्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विशेष विवाद देखिएको थियो । स्थायी कमिटी बैठकमा विवाद बढेपछि लगातार स्थगित हुँदै आएको छ ।

महासचिव विष्णु पौडेल नेतृत्वमा रहेको कार्यदलले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा गर्नुनपर्ने गरी निकासको प्रस्ताव तयार पारिएको स्रोतले जानकारी दिएको छ । कार्यदलका एक सदस्यले बाह्रखरीलाई दिएको जानकारीअनुसार शुक्रबारसम्म कार्यदलले आफ्नो काम सक्नेछ । कार्यदलले तयार पारेको प्रतिवेदन दुईजना अध्यक्षलाई बुझाइनेछ । त्यसपछि त्यसलाई सचिवालयको बैठकमा पेस गरिनेछ ।

एसिड आक्रमण गर्ने थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एसिड आक्रमण गर्ने दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहिबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले मोहम्मद आलम र फैयाज आलमलाई थुनामा पठाएको हो ।

उनीहरुले ओखलढुंगाकी पवित्रा कार्कीलाई गत साउन ८ गते बाफलमा एसिड प्रहार गरेका थिए । आदेशमा  एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि भनिएको छ ।

 कोरोनाबाट थप ६ को मृत्यु, मृतकको संख्या १२६

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् ।

उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष र सप्तरीका एक पुरुष र पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

कोरोना नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न सुझाव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका लागु गरिएको निषेधाज्ञा अवधिमा हलुका टिप्पणी निषेध गरेर युद्धस्तरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको छ ।

कांग्रेसले बिहीबार बेलुकी विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीलाई निषेधाज्ञा अवधिमा हलुका टिप्पणी निषेध गरेर युद्धस्तरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको हो ।

चैत्र महिनादेखि लागु गरिएको चार महिना लामो लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका र विवादास्पद अभिव्यक्तिहरु बढी भोगेको भन्दै कांग्रेसले निषेधाज्ञाको अहिलेको चरणमा देशले ती  सबै बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य खोजेको कांग्रेसले स्मरण गराएको छ ।

 प्रचण्डले भने– पछिल्ला नियुक्ति खारेज गर्नुस्

पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्रचण्डले समग्र समस्या समाधानका लागि कार्यदलले काम गरिरहेका बेला सरकारले भने धमाधम नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीलाई भेटेरै असन्तुष्टि जनाएका हुन् ।
बिहीबार बालुवाटार पुगेका प्रचण्डले भेटमा पछिल्ला नियुक्तिप्रति असन्तुष्टि जनाउँदै ती नियुक्ति तत्काल खारेज गर्न सुझाव पनि दिएका हुन् ।

  घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल

उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शक्यले अपील गरेका हुन् । उनले अत्यावस्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन समेत आग्रह गरे ।

१७ जना नेपाली सेनालाई कोरोना भाइरसको संक्रमण

बिहीबार बाँकेमा १७ जना नेपाली सेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।कौशिला नगर ब्यारेकमा कार्यरत १७ जना सेनालाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।ती सबै मध्यपश्चिम तालिम शिक्षालय कौशिला नगरका प्रशिक्षार्थीहरू भएको महासेनानी नकुल थापाले सेतोपाटीलाई जानकारी दिए।

‘उहाँहरू सबै प्रशिक्षार्थीहरू हुनुहुन्छ र सबै जवान हुनुहुन्छ,’ थापाले भने,‘तालिम केन्द्रमा बुटवललगायत प्रदेशभरिकै प्रशिक्षार्थी रहन्छन्।’ थापाले केही समय पहिले यस्तै तालिम लिन आएकामध्ये ९ जना संक्रमित फेला परेको र उनीहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा थप ४ जनामा संक्रमण फेला परेको थियो।

बिहीबार भने थप १७ जनामा संक्रमण भेटिएको उनले जानकारी दिए। बुटवल लगायतका जिल्लाबाट तालिममा आउनेहरूबाट नै संक्रमण फैलिएको आशंका उनले व्यक्त गरे।

नवलपुरको  फलाम खानी उत्खनन् गर्न सकिने

चितवन । नवलपुरको धौवादी फलाम खानीमा औद्योगिकरूपमा फलामको उत्खनन् गर्न सकिने भएको छ। चीनले धौवादी फलाम खानीको परीक्षण सफल भएको खानी तथा भुगर्भ विभागलाई जानकारी दिएको छ।

चीनको रसायन प्रयोगशालाले मेटलर्जिकल(फलाम बन्छ की बन्दैन भनेर गरिने जाँच) टेस्ट सफल भएको भिडियो रिपोर्ट पठाएको विभागका महानिर्देशक राम प्रसाद घिमिरेले बताए।

‘२/३ दिन अघि प्रयोगशालाले मेटलर्जिकल टेस्ट सफल भएको भिडियो रिपोर्ट पठाएको छ,’ उनले भने, ‘ एक हप्ताभित्रै प्रतिवेदन आउँछ।’ उनकाअनुसार फलामको प्रतिशत कति छ भनेर केमिकल एनलाइसिस टेस्ट गर्न भने बाँकी रहेको छ।

धौवादीबाट व्यावसायिक रुपमा फालम उत्खनन् गर्न सकिन्छ सकिंदैन भनेर सरकारले चीनको सिचूआन इन्स्टिच्यूट अफ मेटालजिकल जीओलजी एण्ड एक्स्प्लोरेशन छेन्दु नमुना परीक्षण गर्न फलाम पठाइएको थियो। उक्त परीक्षणबाट उत्खनन् गर्नमिल्ने प्रारम्भिक रिपोर्ट आएको विभागले जानकारी दिएको छ।

 खाडीका ६ देशमा ७ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं । हालसम्म विश्‍वाका २१३ देशका दुई करोड २५ लाख ५० हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जसमध्ये सात लाख ९१ हजार ७१२ जनाको कोरोना संक्रमबाट मृत्यु भएको छ भने एक करोड ३७ लाख २९ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

मलेसियालगायत  खाडीका ६ देशमा कोरोना संक्रमित संख्या सात ७ लाख नाघेको छ । यी देशमा अहिलेसम्म सात लाख तीन हजार ८२  जनामा कोरोना संक्रमण भएको छ । यी देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४८६ रहेको छ । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्‍न चाटर्ड उडानमार्फत ३० देशबाट ५१ हजार ९६३ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

पार्टीको महाधिवेशन गर्ने तयारीमा किम

उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको अधिवेशनको आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेका उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ ।

मुलुकका नीतिगत कमजोरीलाई सम्बोधन गर्न र संयुक्त राष्ट्र संघको नाकाबन्दीका कारण रूग्ण बनेको अर्थव्यवस्थाको सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउन अधिवेशन बोलाइएको उल्लेख गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्