सैघाली खबर
काठमाण्डौ, २ पुस । अक्सर औपचारिक भेटघाटहरुमा प्रधानमन्त्री शेरबहादुर देउवा दौरासुरुवाल र भादगाउँले ढाकाटोपीमा देखिन्छन्। अनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सधैंजसो सुटपाइन्टका साथ भादगाउँले टोपीमा।
शनिबार बिहान प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डको भेटघाटपछि सार्वजनिक भएको तस्बिर भने फरक थियो। देउवा सुटपाइन्टमा थिए, र प्रचण्डसँगको भेटका बेला उनको शीरमा टोपी थिएन।
यस बिपरित प्रचण्ड भने नयाँ ढाकाटोपीसहित प्रधानमन्त्री देउवालाई भेट्न बालुटावार पुगेका थिए। शान्ति प्रक्रियामा आएयता कहिल्यै नदेखिने ढाकाटोपीमा नदेखिएका प्रचण्डलाई शनिबार बिहान ढाकाटोपीमा देख्दा सायद धेरैले उनको राजनीतिसँगै पहिरनमा आएको परिवर्तन महशुस गरे।
तर, दिउँसो भने उनी फेरि भादगाउँले टोपीमा नै देखिए। शनिबार बिहान वाइसीएलका नेताहरुले बधाई दिँदैगर्दा सामाजिक सञ्जालमार्फत् सार्वजनिक तस्बिरमा चाहिँ प्रचण्डको शीरमा ढाकाटोपी नै थियो।
प्रचण्डका सार्वजनिक भएका १० वर्षे सशस्त्र विद्रोहकालका यस्ता तस्बिर छैनन्, जसमा उनले ढाकाटोपी वा भादगाउँले टोपी लगाएका हुन्। सार्वजनिक भएका सशस्त्र विद्रोहकालका तस्बिरमध्ये एउटामा मात्र उनले टोपी लगाएका छन्। तर, पत्नी सीता दाहाल सहित बाबुराम भट्टराई–हिसिला यमीसँगै बसेर रोल्पामा खिचेको त्यो तस्बिरमा प्रचण्डको शीरमा ढाका वा भादगाउँले होइन, उनको टोपी देखिन्छ।
२०६३ मा शान्ति प्रक्रिया सुरु भएसँगै सार्वजनिक भएपछि लामो समय प्रचण्डको शीरमा टोपी थिएन। बरु, त्यसबेला प्रचण्ड जेल लगाउँथे र कपाल माथितिर फर्काउँथे। जेल नै लगाउने भएपछि टोपी लगाउने कुरापनि भएन। जब प्रचण्ड २०६५ मा प्रधानमन्त्री बने, त्यसपछि मात्र उनले भादगाउँले टोपी लगाउन थाले। त्यसयता सुटपाइन्टमा सजिँदा प्रचण्डको शीरमा कालो भादगाउँले टोपी हुने गरेको छ। पछिल्लो समय चुनावअघि पर्वतको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीसँगै लगाइदिएपछि प्रचण्डको शीरमा ढाकाटोपी देखिएको थियो।
त्यसोभए शनिबार बिहान किन उनी ढाकाटोपी सहित प्रधानमन्त्री निवास पुगे तरु गएको दशैंमा परिवारका सदस्यहरुलाई टीका लगाउँदै गरेको तस्बिर पहिलो पटक सार्वजनिक भएको थियो। र, त्यसलाई कतिपयले एकताको तयारीमा रहेकाले एमालेसँग अन्तरघुलन सजिलो होस् भन्ने उद्देश्यका रुपमा व्याख्या गरेको थिए। किनभने, दशैंका क्रममा गरिएका गोप्य वार्ताकै कारण एमाले–माओवादी केन्द्रबीच गठबन्धनको वातावरण बनेको थियो।
तर, पारिवारिक सदस्यहरुका अनुसार यसपटक प्रचण्डले ढाकाटोपी लगाउनका तीन कारण छन्। एक, चितवन–३ मा विजय हासिल भएपछिका विजय ¥याली र बधाई ग्रहण गर्ने क्रममा शुभेच्छुकहरुले लगाइदिएको अविरका कारण सबैजसो भादगाउँले टोपी रंगिनु। दुई, निर्वाचनमा सफलतास्वरुप बधाई दिन आउनेले ढाकाटोपी लगाइदिनु। र, तीन भर्खर डेरा सरेकाले घर अव्यवस्थित हुँदा भएका भादगाउँले टोपी पनि नभेटिनु।
‘भएका जति सबै भादगाउँले टोपी अविरले रंगिएका छन्, प्रधानमन्त्रीसँग भेटघाट गर्न जाँदा अविर लागेको टोपी लगाउने कुरा भएन’, प्रचण्डपत्नी सीता दाहालका भाई हिमराज पौडेलले नेपालखबरसँग भने, ‘फेरि घर सर्नु भएको छ, कपडा लगायत अरु सामान मिलाउने काम नै सकिएको छैन, त्यसैले जस्तो पाइन्छ, त्यस्तै कपडा लगाएर हिँड्नु पर्ने भएको छ। टोपीको सन्दर्भमा भएको पनि त्यही हो।’
निर्वाचनमा सफलतापछि प्रचण्डलाई बधाई र शुभकामना ग्रहण गर्न भ्याईनभ्याई छ। उनको अधिकांश समय त्यसमा नै बितेको छ। बधाई र शुभकामना दिनेहरुले प्रचण्डलाई टोपी लगाइदिने र खादा पहि¥याइदिने गरेका छन्। र, यही कारण उनको निवासमा टोपी र खादाको चाङ्ग नै लागेको छ। एकातिर भादगाउँले टोपीमा अविरै अविर, अर्कोतिर समयको चापाचाप र तेस्रो घरैभरि ढाकाटोपी नै ढाकाटोपी। त्यही कारण प्रचण्डको शीरमा ढाकाटोपी देखिन थालेको हो।
‘हामी आज बिहान वाइसीएलको तर्फबाट उहाँलाई शुभकामना दिन जाँदा लाजिम्पाट निवासमा भीड थियो, अधिकांशले खादा र ढाकाको टोपी लिएर गएका थिए’, वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटाले भने, ‘शुभेच्छुकहरुले लगाइदिएको टोपी नलगाउने कुरा भएन, खादा जस्तो टोपी फुकालेर थन्क्याइहाल्ने कुरापनि भएन। यही कारणले पनि उहाँको शीरमा ढाकाटोपी देखिएको हो।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।