Banner Third

अज्ञात समूहले राखेको शंकास्पद वस्तु डिष्पोज गरिँदै

By थाहा अनलाइन

August 23, 2020

‘चौथी खेल्न’ शनिबार राति निस्केको समूहले झापाको शिवसताक्षी नगरपालिकाको एक घरमा शंकास्पद वस्तु छोडेको छ। शिवसताक्षी-१० का मोती भट्टराईको घरमा शंकास्पद वस्तु भेटिएको हो।

शनिबार बिहान तार र ब्याट्रीजडित उक्त शंकास्पद वस्तु देखेपछि भट्टराई परिवारले प्रहरीलाई खबर गरेका छन्। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शंकास्पद वस्तु डिस्पोजका लागि चारआलीस्थित नेपाली सेनाको टोली आइपुगेको छ।

तीजको भोलिपल्ट चौथी खेल्ने चलन छ। भट्टराई परिवार सामान्य हो। कसले यस्तो शंकास्पद वस्तु राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै राजनीतिक आवद्धता र व्यवसायमा संलग्न नरहेको भट्टराईको घरमा चौथी खेल्न हिँडेकाले यस्तो काम गरेको आशंका प्रहरीको छ। ‘कुनै राजनीतिक तथा व्यावसायिक आवद्धता नभएको साधारण परिवारलाई चौथी खेल्न निस्केकाले तर्साउन यस्तो वस्तु राखेको हुनसक्ने अनुमान छ,’ झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने।