कोरोनाको पोको बजारमा



पोखरा ।

‘के कोसेली लान्छ्यौ दिदी ऐले नयाँ सालमा ।
कोरोनाको पोको छ झाल झालमा ।’

यो पोखरालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका पत्रकार कमल पौडेलको ‘कोरोनाको पोको’ शीर्षकको तीज गीत सङ्ग्रहमा उल्लिखित गीतको टुक्का हो । हालै बजारमा आएको सङ्ग्रहमा कोरोना भाइरस, यसको उत्पत्ति, चीन, भारत, अमेरिका, इटालीलगायत नेपाली समाजमा पारेको प्रभावलगायतका विषयलाई उल्लेख गरिएका २५ गीत समेटिएका छन् । कृषिप्रधान नेपाली समाजको यथार्थलाई गीतमा समेट्दै यसबाट जोगिन सचेत बन्नाको विकल्प

नभएको बताउँदैको गीतमा भनिएको छ,
“कतिबेला के हुनी हो यस्तो महामारीमा
मास्क लगाई जानुपर्छ खेतबारीमा ।
मान्छेसँग नछोइनू, हिँड्नू, बस्नू अलग
सङ्क्रमितलाई घरमा छुट्टै बलक ।।”

स्याङ्जाको आँधीखोला गाउँपालिका–३ पाख्रीबोट जन्मस्थान भई पोखरालाई कर्मस्थान बनाएका उनको यो २०औँ कृति हो । विसं २०५८ मा ‘रोएकी चेली’ शीर्षकको गीतसङ्ग्रहसहित साङ्गीतिक क्षेत्रमा आएका पौडेलको यस बीचमा ‘सामन्तको मलामी’, ‘जनताको शासन’, ‘भुन्टेको जन्तर’, ‘मुर्कट्टाको देश’, ‘बिर्खे रजाइँ’, ‘कर्मचारी सत्ता’, ‘घरको खजाना’, ‘भुइँचालाको देश’, ‘बर्खे तुनेलो’, ‘खन्चुवाको देश’, ‘गण्डकीको धुन’ र ‘कस्तो सदाचार रु’ शीर्षकका गीतसङ्ग्रह बजारमा आइसकेका छन् ।

त्यस्तै उनका ‘जाउँला बाटो भक्तपुरको’ लोकदोहोरी, ‘गजेको भोटो’ गजलसङ्ग्रह र ‘हाँडीका मकै’ हाइकुसङ्ग्रहका साथै ‘बसुन्धरा’ खण्डकाव्य र ‘उल्टो बाँसुरी’ उपन्यास पनि प्रकाशन भइसकेका छन् ।

कृषि क्षेत्रका साथै खोजमूलक पत्रकारितामा विशेष कलम चलाउने पौडेलले २०६७ सालमा अर्गानिक कृषि सहकारी संस्था पोखराबाट ‘अर्गानिक कृषि पत्रकारिता पुरस्कार’, सामुदायिक सूचना समाज पोखराबाट ‘उत्कृष्ट खोज अनुसन्धान पत्रकारिता पुरस्कार’ सहित ‘आरसी कृषि पत्रकारिता पुरस्कार’, ‘गजल प्रतिभा पुरस्कार’, ‘अपाङ्ग उत्थान उत्कृष्ट पत्रकारिता सम्मान’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाइसकेका छन् ।

उनी हाल रेडियो सराङ्कोट, गोल्डेन आइ टिभी, सगरमाथा टिभी र असल साथी मासिकमा आबद्ध छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्