प्रदेशको समानुपातिक मत ‘पाँच प्रदेशमा एमाले पहिलो, दुईमा काँग्रेस’



सैघाली खबर,काठमाडौँ, ३ पुस । प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा ९एमाले० पाँच वटा प्रदेशमा धेरै मत लिएर पहिलो भएको छ भने दुई वटा प्रदेशमा नेपाली काँग्रेस ठूलो दल बनेको छ ।
एमालेले प्रत्यक्ष र समानुपातिकको प्रारम्भिक मत विभाजनको आँकलन अनुसार प्रदेश १ र ३ मा एकल सरकारका लागि बहुमत हासिल गरेको छ । प्रदेश ६ मा एमालेबिना सरकार गठनको अवस्था छैन । भने, अन्य प्रदेशमा सरकार गठनका लागि गठबन्धनका सबै विकल्प खुला देखिएका छन् ।
प्रदेश १, ३, ४, ५ र ६ मा समानुपातिकतर्फ पनि एमाले पहिलो ठूलो दल बनेको छ । यद्यपि समानुपातिकतर्फ दोस्रो बनेको काँग्रेससँग ठुलो अन्तर भने छैन । प्रदेश २ र ७ मा काँग्रेस पहिलो दल बनेको छ । प्रदेश ७ मा भने पहिलो काँग्रेस र दोस्रोमा रहेको एमालेबीच ३५ हजार मतको फरक छ ।
गठबन्धनगत रुपमा प्रदेश २ बाहेक बाँकी ६ वटै प्रदेशमा वाम गठबन्धन पहिलो भएको छ । प्रदेश २ मा भने सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले धेरै सिट सुरक्षित गरेको छ । समानुपातिक मतसहित मधेसी गठबन्धनका लागि सरकार गठनका लागि चाहिने बहुमत सिट ठ्याक्कै पुग्छ । मधेसी गठबन्धनको प्रत्यक्षमा ३५ सिट छ । समानुपातिकको प्रारिम्भक आँकलन अनुसार गठबन्धनले १९ सिट पाउने छ ।
प्रदेश १ मा एमालेले ६ लाख ७३ हजार ७०९ मत पाएको छ । यस्तै, काँग्रेसले ५ लाख ८६ हजार २४६, माओवादी केन्द्रले दुई लाख छ हजार ७८१, सङ्घीय समाजवादी फोरम नेपालले ७० हजार ४७६, राप्रपाले ५७ हजार ३४२ मत पाएको छ । अन्य दलहरुले थ्रेसहोल्ड कटाएका छैनन् ।
प्रदेश २ मा भने दलगत रुपमा काँग्रेस पहिलो स्थानमा छ । काँग्रेसले तीन लाख ७० हजार ५५० मत पाएको छ । राजपाले तीन लाख १८ हजार ५२४, फोरम नेपालले दुई लाख ८४ हजार ७२, एमालेले दुई लाख ४९ हजार ७३४, नेकपा माओवादी केन्द्रले एक लाख ८२ हजार ६१९ र नेपाल सङ्घीय समाजवादी पार्टी ३२ हजार ८६४ मत पाएको छ । प्रदेश २ मा अन्य दलले थ्रेसहोल्ड कटाउन सकेनन् ।
यस्तै, प्रदेश ३ मा एमाले पहिलो दल बनेको छ ।

एमालेले छ लाख ७७ हजार ३१७ मत पाएको छ । काँग्रेसले पाँच लाख ५९ हजार २४९, माओवादी केन्द्रले तीन लाख १६ हजार ८७६, विवेकशील साझा पार्टीले एक लाख २४ हजार ४४२, राप्रपाले ५९ हजार २६८, नेमकिपाले ४१ हजार ६१०, राप्रपा प्रजातान्त्रिकले २८ हजार ८५५ र नयाँ शक्तिले २३ हजार ९५८ मत पाएका छन । थ्रेसहोल्ड कटाएका साना चार दलले पनि एक÷एक सिट पाउने अनुमान छ । विवेकशीलले प्रदेश ३ मा तीन सिट पाउने आँकलन गरिएको छ ।
प्रदेश ४ मा पनि एमाले नै पहिलो दल बनेको छ । एमालेले ३ लाख ७३ हजार ५३० मत पाएको छ । एमालेभन्दा नौ हजार मत पछि रहेको काँग्रेसको तीन लाख ६४ हजार ७९७ मत छ ।

यस्तै, माओवादी केन्द्रले एक लाख १९ हजार ५२८, नयाँ शक्तिले २४ हजार ६२५ मत पाएका छन् । राप्रपा र विवेकशीलले प्रदेश ४ मा थ्रेसहोल्ड कटाए पनि न्यूनतम एक सिटका लागि चाहिने मत पाएका छैनन् ।
प्रदेश ५ मा पनि झिनो अन्तरले एमाले पहिलो दल बनेको छ ।

एमालेले पाँच लाख ३३ हजार ६१३ मत पाएको छ । एमालेभन्दा करिब तीन हजार मतले पछि रहेको काँग्रेसको पाँच लाख ३० हजार ८४४ मत छ । प्रदेश ५ मा माओवादी केन्द्रले दुई लाख ३९ हजार २८१, सङ्घीय समाजवादी फोरमले ७८ हजार ५६७, राजपाले ५४ हजार ११०, र राष्ट्रिय जनमोर्चाले ३२ हजार ५४६ मत पाएको छ ।

प्रदेश ६ मा समानुपातिकमा ३ दलले मात्र सिट पाउने देखिएको छ । जहाँ मतका आधारमा एमाले पहिलो दल छ । एमालेले एक लाख ६९ हजार ७५५ मत पाएको छ ।

यस्तै, काँग्रेसले एक लाख ६२ हजार तीन, माओवादी केन्द्रले एक लाख १७ हजार २९८ मत पाएको छ ।
प्रदेश ७ को समानुपातिकतर्फको सबैभन्दा ठुलो दल काँग्रेसले दुई लाख ९५ हजार ७२९ मत पाएको छ । काँग्रेसभन्दा झण्डै ३५ हजारले पछि रहेको एमालेले दुई लाख ६० हजार ९५५ मत पाएको छ । प्रदेश ७ मा माओवादी केन्द्रले एक लाख ४२ हजार ७०२ मत पाउँदा राजपाले ३६ हजार ९०२ मत पाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्