काठमाडौं । सत्तारुढ दल(नेकपा)को आन्तरिक समस्या समाधान गर्न गठित कार्यदलले पार्टीभित्र नेताका नाममा रहेका प्रतिष्ठान वा संघ संस्था नै गुटबन्दीको माध्यम बनेको ठहर गरेको छ ।
गत साउन ३० गते गठित कार्यदलले तयार पारेर अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई गत शनिबार बुझाएको प्रतिवेदनको बुँदा नम्बर १६ मा भनिएको छ, ‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघ संस्था परिचालित छन् ।
यी मध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् ।’ प्रतिवेदनले गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्ने सुझाव पनि दिएको छ । ‘त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक श्रोत तथा कृयाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरुमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने’, प्रतिवेदनले संघ वा प्रतिष्ठानमा रहने नेता कार्यकर्ताको संलग्नता र आर्थिक स्रोत र कृयाकलापको तथ्य राख्नुपर्ने जनाएको छ ।
त्यस्तै प्रतिवेदनले प्रतिष्ठानको सञ्चालन, नियमन र व्यवस्थापन गर्न एक महिनाभित्र निश्चित गर्न प्रतिवेदन दिनेगरी कार्यादेश सहित कार्यदल गठन गर्नुपर्ने ठहर गरेको छ । साथै त्यसवेलासम्म कुनैपनि प्रतिष्ठानले प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा विस्तार गर्न नपाउने प्रतिवेदनले सुझाव दिएको छ । ‘प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिना भित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेश सहित कार्यदल गठन गर्ने ।
कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यस उपर छलफल गरी आवश्यक निर्णय लिने । तब सम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनैपनि प्रष्ठिानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने’, प्रतिवेदनमा भनिएको छ ।
नेकपामा यसअघि नै नेताका नामका प्रतिष्ठान खारेज गर्नुपर्ने आवाज उठ्दै आएको थियो । कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनमा सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने तथा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने उल्लेख गरेको छ । त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार सहित मुलतः पार्टीका बैठकहरुको सञ्चालन गर्ने उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।