राजदूत सुन्दासद्वारा सदा परिवारलाई सहयोग
गत असार ९ गते प्रोदेशिक अञ्चल अस्पतालको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका धनुषा, हंसपुरका राजु सदाको परिवारलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले ५० हजार रुपैंयाँ नगद सहयोग गर्नुभएको छ ।
राजदूत सुन्दासको तर्फबाट प्रदेश प्रमुख तिलक परियारका प्रमुख स्वकीय सचिव पदम विश्वकर्माले आज भदौ १० गते हंसपुर नगरपालिकाको कार्यालयमा पुगेर मृतक राजु सदाका बुवा अशेश्वर सदा र आमा निलम सदालाई नगद रु. ५० हजार नगद रकम हस्तान्तरण गर्नुभयो । नगरपालिकाको कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा नगर प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणुकुमारी झा, प्रदेश प्रमुखका स्वकीय अधिकृत अनिल पासवान, हंसपुर नगरपालिकाको ७ नम्बर वडा अध्यक्ष रामसेवक मण्डल, २ नम्बर वडा अध्यक्ष उदय साह, तथा नगर कार्यपालिका सदस्यहरुको उपस्थितिमा सदा परिवारलाई सो रकम हस्तान्तरण गरिएको थियो ।
कोरोना महामारीको कारण लकडाउन हुँदा तराइ मधेशका दलित समुदायका परिवारलाई गहिरो गरि असर गरिरहेको छ । अभाव, उत्पीडनमाथि गरिने छुवाछूत विभेदका कारण यो समुदायका व्यक्ति तथा परिवारहरुलाई परेको गहिरो पीडामा अलिकति मात्रै भए पनि मल्हम लगाउने उद्देश्यले आफ्नो पारिश्रमिकको केही अंश सदा परिवारलाई पठाएकोे राजदूत सुन्दासले बताउनुभयो ।
नेपालको दलित आन्दोलनका लोकप्रिय नेता पदम सृुन्दास गत तीन वर्ष अगाडि बहराइनका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो । नेपालको दलित आन्दोलनमा कला, साहित्य तथा प्राज्ञिक क्षेत्रबाट उहाँको निरन्तर योगदान रहँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।