काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिपब्लीकन पार्टीले पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट ट्रम्प दुई मुख्य प्रतिस्पर्धी बनेका छन् ।
ह्वाइट हाउसको परिसरमा स्थानीय समय अनुसार बिहीबार राति भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाए ।
एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गरे । कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको बताए ।
अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गरे । उनले पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पु–याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको पनि बताए । जो बाइडेनले विगतमा सिनेटर र पूर्व उपराष्ट्रपतिका रुपमा सार्वजनिक सेवा गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले जो बाइडेनलाई जिताउन चीनले समर्थन गरेको समेत बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।