एक युवाको जातीय विभेद अन्त्य गर्ने सपना



– उमेश विश्वकर्मा

साथीहरुसँग ‘हलो’ भन्दै टाढैबाट हात उठाउने र नजिक पुगेर हात मिलाउने चलन बाल्यकालबाटै सिकेका थियौं। समाजले उच्च भनेको जातका साथीहरु पनि दिल खोलेरै हात मिलाउँथे। आफ्नो पुस्ताका साथीहरु जातको विषयलाई लिएर विभेद गर्लान् भन्ने कल्पनै थिएन। एक अन्तरंग मित्रसँग बाटोमा अचानक भेट भयो। उनले परैबाट हात उठाए। मैले पनि उठाएँ। नजिक पुगेपछि मैले हात अघि बढाउँदै मिलाउन खोजें। उनले भने, ‘आज हात नमिलाउँ ल।’ किन भनेर प्रश्न गर्ने हिम्मत थिएन। म तथा कथित सानो जातको मान्छे। समाजले त्यस्तै भन्थ्यो। अरुको इच्छा र इशारामा चल्नुपर्ने बनाइएको थियो। उनी आफैंले स्पष्ट पारे, ‘दिदी सुत्केरी भएकी छे, खानेकुरा बोकेर हिँडेको छु।’

अझ सानोको घटना स्मरण आउँछ। सरस्वती पूजाको समय सबैमा फरक खालको उत्साह हुन्थ्यो। पूजा गर्ने। बुनियाँ, बयर खाने। हामीलाई भने अघिल्लो दिनबाटै सरले पूजाको दिन बिहानै आउन उर्दी जारी गर्दै धेरै खानेकुरा दिने प्रलोभन दिनुहुन्थ्यो। कस्तो माया गर्ने सरहरु जस्तो लाग्थ्यो मलाई व्यक्तिगत रुपमा। अरु पुग्नुभन्दा अघि नै विद्यालय पुग्यो। म जस्तै अन्य दलित समुदायका विद्यार्थीहरुको पनि उपस्थिति हुन्थ्यो। सरहरुले भित्रबाट एक–एक लाक्रा उखु, सिंगा–सिंगा सुन्तला, एक पोलेथिन बुनियाँ र केही बयरहरु ल्याइदिनुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो, ‘ल टन्न खानु। फेरी नआउनु नि अब।’ हामीलाई आवश्यकताभन्दा धेरै दिएर फकाउने अनि पूजाको समय विद्यालयमा आउन नदिने शिक्षकहरुको नियत वर्षौंपछि मात्र बुझियो।

आज भदौ १५। मेरो लागि विशेष दिन। वर्षौंअघि आजकै दिन आमाले यस धर्तीमा पाइला टेकाउनुभएको थियो। हुर्किएर समाजसँग परिचित हुनु अघि नै विभेद बुझाइयो। मानौं न, जन्मनु अघि नै धब्बा लागिसकेको थियो शरीरमा। म तथाकथित तल्लो जातको मान्छे। सामाजिक व्यवहारमा त्यस्तै अनुभूति गराइन्छ। अन्याय र अत्याचारको भुंग्रोमा फालिन्छ। सहनैपर्ने बाध्यताको सृजना गराइन्छ। हरेक जन्मदिनले मलाई घच्घच्याउँछ। पिरोल्छ। छट्पट् गराउँछ। मनका भावलाई उथलपुथल गराउँछ। संखुवासभाको एउटा विकट क्षेत्रमा जन्मिएको मलाई जन्म दिनुअघि आमाले के के सपना देख्नुभयो कुन्नि ? मलाई भने, हरेक जन्मदिनले एउटा सपना निरन्तर देखाउँछ। कहिले विपना हुने निश्चित नभएको एउटा सपना। अन्याय र अत्याचार विरुद्धको सपना।  निश्चित व्यक्तिले आफ्नो स्वार्थका लागि टेरिटोरी खडा गराएको जातको विभाजन अन्त्य गराउने कठिन सपना।

युद्धमा होमिएको योद्धाको परिकल्पना गर्छु आफूलाई। युद्ध सहज छ त ? समय समय मनमा प्रश्न उठ्छ। एकातर्फ हजारौं, लाखौं अनि करोडौं सेनाहरु। शब्दका, भावनाका र व्यवहारका शस्त्रअस्त्र बोकेर तैनाथ बिद्रोही जमात। अर्कोतर्फ म एक्लै। पाइला नै चाल्न नसकिने वातावरण पो बन्ने हो कि ? त्रास उत्पन्न हुन्छ समय समय। फेरी त्यही समाजबाट देखेको, भोगेको अनि अनुभूति गरेको विभेदले झस्का दिन्छ। घोच्छ, चस्स–चस्स। सपना देख्न छोड्नु हुँदैन भन्ने आत्मविश्वास बढाउँछ घोचाईले। पीडाले पनि हौषला दिने सायद् यस्तैमा हुनुपर्छ। जातको रंग पोतेर खेलिने होलीले मलाई पाइला पाइलामा पीडा र हौषला दुबै दिन्छ। बाल्यकालदेखि अहिलेको अवस्थासम्म आइपुग्दाका भोगाईले पनि त्यस्तै भन्छन्।

दक्षिण अफ्रिकाको रंगभेद विरोधी आन्दोलनका अभियानता देसमण्ड टुडु भन्छन्, ‘चरम अन्याय भइरहेको अवस्थामा तथस्ट रहनु भनेको पीडकलाई साथ दिनु सरह हो।’ सामाजिक विभेद र असमानताको ज्ञान भएसँगैबाट मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा अन्यायको विरुद्ध बोल्न थालें। आज पनि बोलिरहेको छु र भोली पनि बोल्नेछु। अन्यायको विरुद्ध संस्थागत र व्यक्तिगत रुपमा मैले धेरै विषय र सन्दर्भहरुमा आवाज उठाएँ। तर, आफैंमाथि परेको अन्यायको बारेमा भने मैले बोल्न सकिँन। मौन रहनु आफैंले आफैंमाथि गरेको अन्याय हो भन्ने महशुस गरेको छु। आजसम्म मैले आफूमाथि परेको अन्यायलाई लुकाएरै राखें। घटना लुकाउने रहर र स्वार्थ त के थियो होला, बाध्य बनाउँदो रहेछ समाजले। थाहै नपाई परिस्थितिको दास बनाइँदो रहेछ। लामो सयमको सामाजिक, सांस्कृति र राजनीतिक आन्दोलनले विभेदको रंग त फेरिदियो। तर नियत फेर्न सकेनछ। शैली फेरिदियो। व्यवहार फेर्न सकेनछ। व्यक्ति केन्द्रित आलोचनाभन्दा पनि आज आम प्रवृत्तिको विषयमा लेख्नैपर्ने अनुभूति भयो। म आवाज उठाउन सक्ने, न्यायको ढोका घच्घच्याउन सक्ने व्यक्ति त समाजबाट प्रताडीत हुनुपर्छ भने बाँकीको अवस्था के होला ?

जतिबेला म विद्यार्थी राजनीतिमा थिएँ, त्यो समय सबैले मलाई अघि बढ्न हौषला दिनुभयो। कुनै पनि कमिटिमा दोस्रोपटक बस्नु परेन। निरन्तर अघि बढिरहें। पारिवारिक रुपमा मावली पक्षका अधिकांश राजनीतिमा जोडिनुभएको थियो। सायद्, त्यसैको प्रेरणा होला, म कम उमेरमै राजनीतिमा सकृय भएँ। निश्चित व्यक्तिको स्वार्थलाई समयको मागले जितिदियो। त्यो समय मैले अखिल संखुवासभाको अध्यक्ष पदको जिम्मेवारी बहन गर्ने अवसर पाएँ। जिम्मेवारी बहन गर्दैगर्दा व्याख्या गरेजस्तो सहज थिएन राजनीतिक यात्रा। पाइला पाइलामा विभेद हुन्थ्यो। आफैंं जिम्मेवार पदमा हुँदा भोग्नुपरेका अन्याय, अत्याचार र विभेद कसरी र को मार्फत बाहिर ल्याउने त ? यो प्रश्नले हिजो मात्र होइन, आज पनि उत्तिकै र उस्तै अवस्थामा गिज्याईरहन्छ।

वि.सं. २०६० को अन्त्य तिर विराटनगर झरेको म, पत्रकारितामार्फत् आफ्नो नयाँ भविष्यको खोजीमा निस्किएँ। पत्रकारिताकै क्रममा जागरण मिडिया सेन्टरले पूर्वाञ्चल प्रतिनिधिको रुपमा काम गर्ने अवसर दियो। त्यहाँबाट मैले सामाजिक गतिविधि बुझ्न पाएँ। सामाजिक काममा थप चासो बढ्यो। वि.सं. २०६२/६३ पछि दलित अधिकारको क्षेत्रमा काम गर्ने मनासयका साथ मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ नेपाल) बाट गतिविधि सञ्चालन गर्ने योजना बन्यो। यो अभियानमा किशोर विश्वकर्मा, रवि रोक्का, प्रकाश परियार, कपिल सुनार लगायतका साथीहरुले साथ दिनुभयो।

राजनीतिलाई नजिकबाट बुझ्ने काम गर्दै म सकृय रुपमा सामाजिक अभियानमा कृयाशिल हुन थालें। त्यो समयसम्म मलाई औपचारिक जिम्मेवारी बहन गर्न भोग्नुपर्ने कठिनाईको अनुमान पनि भएको रहेनछ। राजनीति, पत्रकारिता र सामाजिक काम सबैमा जोडिनुको उद्धेश्य आफ्नो मिसन नै थियो। जसरी भए पनि समाजमा रुपान्तरण ल्याउनुपर्छ। त्यसका लागि अघि बढाइएको यात्रामा मैले केही दर्जन भए पनि इट्टा थप्नुपर्छ भन्ने थियो। जब म गैसस महासंघको नेतृत्वमा रहने इच्छा प्रकट गरे, त्यही दिनदेखि मैले धेरै चुनौतिसँग लड्नुपर्यो। यतिबेला गैसस महासंघको केन्द्रीय सचिवको रुपमा काम गरिरहेको छु। आज जन्मदिनको अवसरमा लेखिएका यी शब्दहरुमा सामाजिक रुपान्तरणको अभियानमा कृयाशिल हुँदा भोग्नुपरेका उतारचढावहरुलाई अलि बढी खोतल्ने कोशिस गर्दैछु। स्थानीय स्तरमा एउटा निश्चित संस्थाको नेतृत्व गरिरहँदा मैले पाएको माया, सम्मान र राष्ट्रिय स्तरमा पुग्दैगर्दा आम समाजले मलाई हेर्ने नरजमा आएको परिवर्तनबाट म आफैं अचम्मित भएँ। रिडेफको नेतृत्व गर्दैगर्दा दर्शकको रुपमा कुरा सुन्ने निमन्त्रणा, गैसस महासंघको केन्द्रीय सचिव हुँदैगर्दा टुट्यो। त्यो पनि अधिकांशले घोषित रुपमा ‘दलितलाई मञ्चमा बसाउनु हुँदैन’ भन्ने शब्द जोड्दै भएको अघोषित बहिस्कारले मलाई ठूलो पीडा दियो।

म नेतृत्वमा आइसकेपछि आफ्नै साथीहरुले जातीय विषयलाई उठाउन छोड्नुभएन। ‘कामीबाट शासित हुन सकिदैन’, ‘कामीलाई मञ्चमा राखेर हामी मुनी बस्न सकिदैन’ जस्ता असोभनिय कुतर्कहरु सुन्थें। आफ्नै कानले। तर, सुनेको नसुने झैं गरें। नेतृत्वमा रहेका मानिसहरुको आलोचना हुन्छ, टिकाटिप्पणी हुन्छ। अनि नेतृत्वलाई नपचाउन सक्छन्। यो स्वभाविक प्रकृया हो भन्ने मेरो बुझाई थियो। यो श्रृंखला यतिमै रोकिएन। जातीय आधारमा गाली गरेका म्यासेजहरु आदानप्रदान गर्ने, अभियानबाट पलायन हुने वातावरण बनाउने गरी बदनियतपूर्ण कुचेष्टाहरु गरियो। त्यसपछि मैले न्यायका निम्ति प्रहरीमा पुग्ने कि भन्ने अवस्था पनि आयो। अग्रजहरुसँग सल्लाह गरे। बसेर छलफल गरौं भन्ने सुझाव आयो। समाज रुपान्तरणको स्वघोषित अगुवा ठान्ने केहीले  आफूबाट गल्ति भएको स्वीकार्दै माफी मागेको काजजात अहिले पनि मसँग शुरक्षित छ। तर खुशीको कुरा, मेरो मिसन डौडन छोडेन। बग्न रोकिएन। मेरो नेतृत्वमा गैसस महासंघ प्रदेश १ को आफ्नै भवन बन्यो। सामाजिक रुपान्तरणका विभिन्न गतिविधिहरुलाई द्रुत गतिमा अघि बढाइयो।

सुरुवाती चरणमा राजनीतिमा जोडिएर काम गर्दैगर्दा मैले समाजलाई जसरी बुझें, त्योभन्दा बिलकुल फरक भयो सामाजिक क्षेत्रको यात्रा। जे सोचियो, जे कल्पना गरियो, त्यस्तो भएन। हामीले अहिले पनि कल्पना गरेको समाजभन्दा, शब्दमा पढेको समाजभन्दा व्यवहारको समाज फरक रहेछ। विभेदका चरणहरु, विभेदका शैलीहरु, स्वरुपहरु फेरीएका रहेछन्। सानोमा भनेजस्तो पानी नचल्ने विषयलाई अहिले त भावना नै नचल्ने बनाइएछ। सामाजिक रुपान्तरणको विषय अझै जटिल मोडमा पुगेछ।

म आफू दलित अधिकारको पक्षमा आवाज बुलन्द गर्दै परिवर्तनको यात्रामा अघि बढ्दैगर्दा स्वयम् आफू उत्पीडित हुनुपर्छ भन्ने सोच्न मैले भ्याएकै रहेनछु। आफैं दमित हुनुपर्छ भन्ने कल्पनै गरेको रहेनछु। आज पनि हेरेक व्यक्ति, हरेक घर, हरेक टोल समाजमा विभेदको श्रृंखला कायम छ। विगतको तुलनामा अझ मौलाएको आकारमा। फैलिएको अनि हौसिएको शैलीमा। अहिले पनि पानी छोएको निहुँमा दलित समुदायका व्यक्तिले पिटाई खानुपर्छ।

देशमा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक परिवर्तन भयो भनिन्छ। केही त भयो पनि। थोरै भयो, धेरै हुन बाँकी थियो। धेरैले थोरैलाई फेरि ढाक्यो। जित्यो। अहिले करिब करिब उस्तै भएको छ समाज। केही परिवर्तन नभएको जस्तो। थोरै शैली फेरियो होला। सोच र नियत फेरिएको छैन। जातको रंग झन गाढा बन्दैछ। छोएको चल्ने, विवाह चल्ने विषय परकै भए। अहिले पनि तल्लो जातको नाम दिएर दलित समुदायसँग तथा कथित उच्च जात संगत गर्नै खोजदैन। राज्यले त्यस प्रकारको वातावरण बनाउन पनि सकेन। कानुन त बन्यो। तर, शब्दमा । कागजमा। व्यवहारमा केही भएन। सबै देखावटी भए।

म दलित अधिकारको पक्षमा वर्षौैंसम्म लड्दै आएको व्यक्तिले घरमा बहिनीको बिबाह हुँदा भोज पकाउन तथाकथित उपल्लो जात भनिनेहरुलाई नै दिनुपर्ने बाध्यता बन्यो। नत्र उच्च भनाउँदा जातले बहिस्कार गर्ने खतरा थियो। परम्परा तोडाउन मैले पनि सकिन।  समाज कहाँ पुग्यो त ? कहाँ पुग्दैछ त ? अहिले पनि उच्च जातका साथीहरुको घरमा जाँदा अधिकांशले बाहिर बरण्डामै राखेर खाजा खुवाउनुहुन्छ। भित्र पसाउने हिम्मत न उहाँसँग,  न त मसँग पस्ने हिम्मत। युवा अवस्थामा हुँदा चुनावी यात्राका क्रममा हिँड्दा कतै बास बस्नुपर्ने भयो। मलाई बाख्राको खोर नजिकै ओछ्यान बनाइएछ। रातको ११ बजे दुई घण्टाको घना जंगल पार गर्दै घर पुगेको घटना मानसपटलमा ताजै छ।

पानीको बेग, हावाको चाप र सूर्यको तापभन्दा तिब्र गतिमा समाज विकासको यात्रामा अघि बढिरहेको छ। म मनमनै कल्पना गर्छु, ‘मानवीय चेतना बिनाको विकास कस्तो हुन्छ होला ?’ आज पनि दलित समुदायकी वृद्ध बोक्सिको नाममा पिटाइ खान्छे। अछुतको नाममा युवा आज पनि शिक्षित समाजबाट शोषित हुन्छ। बहिनी उच्च समाजका व्यक्ति भनाउँदाबाट बलात्कृत हुन्छे। भाउजुले आज पनि पधेंरोमा पानी छोएको विषयमा भनाई वा पिटाई खानुपर्छ। ‘यी तल्लो जातका’ भन्ने शब्द आज पनि समाजका कुना कुनामा सुन्नुपर्छ। कति जटिल छ यात्रा ? आर्थिक विकासको पक्षबाट हेर्दा आज पनि दलित समुदाय राज्यबाट उपेक्षित छ। उनीहरुमाथि केही गरिएको छ भने देखावटी, दयाको भाव राखेर गरिएको छ। समाजको आवश्यकता ठानिएकै छैन। विपन्न, दलित, सुकुम्बासी, आदिवासी, जनजाती लगायतको स्तर उठाउनुपर्छ भन्ने चेतना नेतृत्वको भित्री मनमा पलाएकै छैन।

जातीय विभेद अन्त्य गर्ने कानुन बन्यो। कानुन कसका लागि ? हुनेखाने, पहुँच भएका र सम्पन्न व्यक्तिका लागि। म फेरि दोहोर्याउँछु, ‘समाजको अग्र भागमा रहेर काम गरिरहेका ठान्ने म आफू माथि त विभेद रोकिन सकेन। अन्यको अवस्था के होला ?’ सयौं घरको बीचमा भएको एउटा दलितको अन्याय अत्याचारको विरुद्धमा बोल्ने हिम्मत होला त ? किमार्थ हुँदैन। थोरैको आवाज उठाउने हिम्मत भइहाल्यो भने पनि दवाव दिएर स्थानीय स्तरमै घटनालाई लुकाउने वा मिलाउने काम गरिन्छ। अनि कहाँ काम लाग्यो छुवाछुत विरुद्धको कानुन ? व्यक्तिगत रुपमा मैले र मजस्ता लाखौं दलित समुदायले सहेको विभेदको अन्त्य कानुनी उपचार नै हो भन्ने पनि ठान्दिन। सबै घटनासँग कानुन र व्यवहार मेल नखान सक्छ। यो त समाजको सोच, व्यवहार, संस्कार, नैतिकता र आचरणसँग जोडिएर आउने विषय हो। तर, अझै पनि म सपना देख्न छोड्दिन। दलित र गैरदलित अंकमाल गरेको सपना, हातेमालो गरेको सपना। सामाजिक र सांस्कृत भावना साटासाट गरेको सपना। आर्थिक र राजनीतिक हैसियत समान भएको सपना। जातको आधारमा गरिने विभेद एकादेशको कथा भएको सपना। पानी छोएको निहुँमा पिटाई खाएका घटनाहरु इतिहासका पानामा सिमित भएको सपना। र सपनाहरु निरन्तर देखिरहन्छु। म ‘छु’ र म ‘हुँ’ भन्ने अनुभूति भएसम्म। अविरल ।

लेखक गैसस महासंघका केन्द्रिय सचिव हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्