काठमाडौं । इतिहाद एयरवेजले चार्टर्ड उडान अनुमति माग गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उसले युएईबाट नेपालीहरुलाई ल्याउनका लागि चार्टर्ड उडान अनुमति माग गरेको हो ।
एयरलाइन्सले कम्पनीहरुको कर्पोरेट रेस्पोन्स स्पोन्सरसिपमा नेपालीलाई काठमाडौं ल्याइदिनका लागि उडान गर्न खोजेको उल्लेख गर्दै अनुमतिका लागि आवेदन दिएको छ । युएईको राष्ट्रिय ध्वजाबाहक इतिहादले काठमाडौंस्थित दूतावासमार्फत् उक्त निवदेन मन्त्रालयमा दिएको हो ।
एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म यी चार्टर्ड उडान गर्ने प्रस्ताव गरेको छ । उसले यी उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नु नपर्ने उल्लेख गरेको छ ।
त्यस्तै युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउने उसले बताएको छ । प्रत्येक चार्टर्ड उडानमा १४० जना नेपाली ल्याउने र उक्त उडानमा कामदार बाहेक अरु कुनै पनि यात्रुलाई नल्याउने बताएको छ । त्यस्तै फर्किने जहाजमा केही सामान्य कार्गो लिनसक्ने एयरलाइन्सले जानकारी दिएको छ ।
भिसाको अवधि सकिएकाहरुका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने व्यवस्था भएकाले यस्तो उडान अनुमति दिन एयरलाइन्सले अनुरोध गरेको हो । तर मन्त्रालयले भने यसअघि नै चार्टर्ड तथा नियमित उडान अनुमति दिइसकिएको र बाँकी उडान अनुमति दिन नसक्ने जवाफ दिएको छ ।
सरकारले दैनिक ८ सय जनासम्म मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ । यो संख्या यसअघि नै दिइएको उडान अनुमतिबाट पुरा हुने भएकाले थप अनुमति दिन सक्ने अवस्था नभएको मन्त्रालयको प्रतिक्रिया छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कुनै एयरलाइन्सले अतिरिक्त चार्टर्ड उडान अनुमति माग गरेको पत्र आएको सुनेको प्रतिक्रिया दिए ।
साथीहरुले मलाई थप चार्टर्ड उडानका लागि अनुमति माग गरेको कुरा भन्नुभएको थियो तर अहिलेका लागि हामीले १ महिनासम्मका लागि चार्टर्ड र नियमित जति दिएका छौँ त्योभन्दा थप दिनसक्ने अवस्था छैन अधिकारीले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।