बागलुङमा बाढी आपडेट : ८ शव भेटिए, १३ जना बेपत्ता



बागलुङ /१८ भदौ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको–८ र ९ बोबाङको ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।

उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्छ ।

अविरल वर्षासँगै गएराति १२ बजेको तिर आएको बाढी वस्तीमा पसेको थियो । सो बाढीले सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको छ ।

बाढीले विद्यालय, जलविद्युत आयोजना, झोलुङ्गे पुलहरुमा पनि क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्