काठमाडौं /१८ भदौ।
अर्थमन्त्री डा. युवराज खतिवडाको ६ महिने कार्यकाल सकिन आँटेको छ । अब उनी शनिबार राति १२ बजेसम्म मात्रै अर्थमन्त्री रहन पाउनेछन् । खतिवडाको ७२ घण्टे ‘काउन्टडाउन’ सुरु भएको छ ।
डा. खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका थिए ।
सपथ ग्रहण गरेको दिनदेखि गणना गर्दा भदौ २० गते राति १२ बजे उनको ६ महिने पदावधि समाप्त हुन्छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।
डा. खतिवडाले केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्रीका रुपमा काम गरे । राष्ट्रियसभामा मनोनित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे कार्यकाल पूरा गरेर गत फागुनमा बाहिरिएका थिए ।
सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । अब पुनःनियुक्तिको ६ महिने कार्यकाल पनि समाप्त हुने समय आइपुगेको छ ।
संविधानतः मन्त्री पदमा बस्न नमिल्ने भएकाले अर्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना रहेको उच्च स्रोतले बताएको छ।
आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दैछ । वामदेवलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय हुनु भनेको अर्थमन्त्री खतिवडाको बहिगर्मन निश्चित हुनु हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।