विराटनगर ।
सत्तारुढ नेकपाको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन् । अभिषेक राय र विकास महतोलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई पार्टीका ठूला नेताहरुको संरक्षण पाइएको छ । रकम असुलीका नाइके राय अनेरास्ववियूका विराटनगर महानगर कमिटीका उपाध्यक्ष हुन् । हतियार बेच्ने महतो सोही संगठनको मोरङ जिल्ला कमिटी सचिवालय सदस्य, पुसेट क्याम्पस कमिटीका अध्यक्ष तथा पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कमिटी सदस्य सम्मको जिम्मेवारीमा छन् ।
अनेरास्ववियूको आवरणमा उनीहरुले लामो समयदेखि अपराधिक गतिविधि गर्दै आएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुवै जना अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य वसिम आलम निकट व्यक्तिहरु हुन् । आलम नेतृत्वमा चलिरहेको असहायलाई निशुल्क खाना खुवाउने अभियानमा समेत उनीहरु जोडिएको थिए । अपराधिक गतिविधिबाट कमाएको पैसा समाजसोवमा लगाएको समेत देखिएको छ । पक्राउ परेकाहरुले प्रहरीसँग समेत सम्बन्ध बढाएका थिए ।
अभियुक्त महतोले ईलाका प्रहरी कार्यालय रानीबाट कदरपत्र समेत प्राप्त गरेको खुलेको छ । प्रहरीको उच्च अधिकारीहरूको स्वागत र बिदाईमा मात्र सरिक हुने नभै उनीहरूले प्रहरीलाई विभिन्न सहयोग समेत गर्दै आएका थिए । आलम संचालक रहेको ट्रु बुइल्ट नामक निर्माण कम्पनीसँग जोडिएका उनीहरू पेटी ठेकदारको रूपमा पनि काम गर्दै आएका थिए ।
समाजमा समाजसेवीको छवि बिकास गर्दै आएका उनीहरूले प्रहरीका उच्च अधिकारी र इमान्दार नेताको छवि बनाएका पूर्वमन्त्री लालबाबु पण्डितसँग पनि निकट सम्बन्धको बिकास गरेका थिए । पूर्वमन्त्री पण्डित विराटनगर आउँदा आलमकै साथमा अघिपछी हिड्ने गरेका उनीहरूलाई छुटाउन पनि अहिले राजनितिक दवाव आएको प्रहरी अधिकारी बताउँछन् ।
उनीहरुले समूह नै बनाएर असुली धन्दा चलाउँदै आएका थिए । हालसम्म पाँचजना पक्राउ परिसकेको मोरङ प्रहरीका एक अधिकारीले बताए । विराटनगरका दुईजना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहमा आबद्ध कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबर्साइन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
गुट्खा, चामल, तेलको डिलर सञ्चालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ सो समूहले चन्दा मागेका थिए । प्रहरीका अनुशार व्यापारीले दुई पटक गरि ५ लाख रुपैयाँ दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।