अमेरिकामा ल्यापटपको अभाव



काठमाडौं । कोरोना महामारी विश्वव्यापी रुपमा गम्भीर बन्दै गएपछि केही महिनासम्म पुग्नेगरी अतिआवश्यक सरसामग्रीहरु खरिद गर्ने क्रम सबै मुलुकमा बढ्यो । यसका कारणले धेरै समयसम्म अमेरिका लगायत केही देशहरुमा टोइलेट पेपरको चरम अभाव सुरु भएको थियो । र अहिले टोइलेट पेपर जस्तैगरी प्राविधिक उपकरणहरुको माग पूरा गर्न कठिन भइरहेको छ ।

विशेषगरी विद्यालय ,कलेज अनि कार्यालय बन्द हुँदा सबै घरबाट काम गर्न बाध्य भएका छन् । त्यसबीच विद्यालय र कलेजहरुले कम्प्युटर, ल्यापटप लगायत डिभाइस नभएका विद्यार्थीका लागि ठूलो सङ्ख्यामा शैक्षिक सामग्रीहरुको माग गरेका हुन् । र देशैभरिका कार्यालयबाट एकैपटक धेरै सङ्ख्यामा प्राविधिक उपकरणको माग आउनुले यतिबेला आपूर्तिमा कमी ल्याएको छ ।

विश्वका तीनैवटा प्रमुख कम्पनी, लेनोभो, एचपी र डेलले अचानक वृद्धि भएको माग अनुसार सामान उपलब्ध गराउन नसकिरहेको बताएका छन् । ल्यापटप जस्ता डिभाइसको उत्पादन यत्तिको उच्च माग पूरा गरि आपूर्ति गर्ने किसिमले स्थापित नभएकाले उनीहरुले बताएका हुन् ।

यसमै कतिपय ल्यापटप निर्माताहरुले चाहीँ अहिलेको कारोबारबाट प्रशस्त फाइदा पनि कमाइरहेका छन् । अघिल्लो वर्षको तुलनामा अप्रिलको पहिलो हप्तामा रिटेल कारोबार ४४ प्रतिशतले बढेको आधिकारिक डाटाले देखाएको छ ।

सिएनएनसँग कुरा गर्दै एसर कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी मात्र नभएर पूरै प्रविधि उद्योगमा कम्प्युटर र मनिटरको माग ऐतिहासिक बिन्दुमा पुगेको छ । त्यसैले हामीले जति सक्दो छिटो र धेरै आपूर्ति गर्न दिनरात खटेर काम गरिरहेका छौँ । ”

अर्को प्राविधिक कम्पनी एचपीका प्रवक्ताले पनि आफूहरु विद्यार्थीको हातमा ल्यापटप पुर्याउन स्कुलको सक्दो मद्दत गरिरहेको बताएका हुन् । वास्तवमा अमेरिकामा महामारीको असर सुरु हुनु अगाडि नै प्राविधिक उपकरण निर्माणकर्ताहरु चीनसँगको व्यापारिक युद्ध, ट्यारिफ लगायत विभिन्न कारणले संघर्षरत् अवस्थामा थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्