काठमाडौं । विद्रोही नेकपा रूपन्देहीले कोरोना संकटको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा ऋणीहरूबाट किस्ता, ब्याज र हर्जनासमेत असुल गर्न ताकेता गर्ने, घरमा पुगेर मानसिक दबाब दिने र ब्याज र हर्जनासमेत असुल गर्न ऋणीहरूलाई धम्की दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
जिल्ला सेक्रेटरी प्रभातले प्रेस विज्ञप्ति जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूको यस्तो हर्कतले व्यवसायी तथा ऋणीहरू घरपरिवार र समाजबाट समेत पलायन हुनुपरेको बताएका छन् । कोरोना कहरको बेला जनताको गास, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताहरू राज्यले पूरा गर्नुपर्ने दायित्वबाट पन्छिएर केपी ओली नेतृत्वको सरकारले उल्टै उठीबास पार्ने कार्य गर्नु निन्दनीय र खेदजनक रहेको भन्दै यस्तो हर्कत तत्काल बन्द गर्न नेकपाले चेतावनी दिएको हो ।
‘कोरोना संकटको भयावह स्थितिमा श्रमजीवी जनतालाई गास, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता राज्यले पूरा गर्नेपर्ने दायित्वबाट पन्छिएर उल्टै धम्की दिने र उठीबास पार्नेजस्ता घृणित हर्कत गर्नु निन्दनीय र खेदजनक रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले श्रमिक जनतामाथि गरेको यस्तो व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र आगामी दिनमा यस्ता घटनाहरू नरोकिए जनस्तरबाट प्रतिरोध गर्ने र त्यसको प्रतिफल भोग्न तयार रहन सम्बन्धित निकायलाई जानकारी गराउँछौँ’, विज्ञप्तीमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।