दुरुपयोग भएपछि किसानलाई दिइने अनुदान बन्द गरियो



विरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम लयाएको हो ।

अघिल्ला वर्षहरुमा मन्त्रालयले कृषि तथा पशुपालनको क्षेत्रमा विभिन्न शिर्षकमा कृषकलाई अनुदान वितरण गर्दै आएको थियो । त्यस्ता अनुदान वास्तविक कृषकभन्दा अधिकांश पहुँचवाला र गैरकृषकले पाउने गरेको भन्दै आलोचना हुने गरेको थियो । मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले यस कार्यक्रमका लागि चालु आवमा सात करोड विनियोजन गरिएको जानकारी दिए । ऋणको ब्याज अनुदान अवधि पाँच वर्ष राखिएको छ ।

त्यसपछिको ब्याज स्वयं कृषकले तिर्नुपर्नेछ । उक्त अवधिसम्म बढीमा एक करोड ऋण लिने कृषकका लागि सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले नै तिरिदिने छ । यो प्रक्रिया सबै बैंकले पूरा गर्नुपर्नेछ । सचिव शर्माका अनुसार चालु आर्थिक वर्षमा यस कार्यक्रमबाट १०० कृषक लाभान्वित हुनेछन् ।

“ती कृषकले सबै बैंकिङ प्रक्रिया पूरा गरेपछि सम्बन्धित बैंकबाट बढीमा एक करोडसम्मको ऋण पाउनेछन् र उक्त ऋणको सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले तिरिदिनेछ,” उनले भने, “बैंकको ब्याज तिर्न नसक्ने वा शुरु ब्याज तिर्न आम्दानी नहुनेका लागि यो कार्यक्रम धेरै उपयोगी छ ।”

कृषि तथा पशुपालनको क्षेत्रमा २० प्रकारका ऋणको व्यवस्था गरिएको छ । ब्याज अनुदान लिन कृषकले अनिवार्यरूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । त्यस्तै १० लाखभन्दा बढी ऋण लिनुपरे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्ने लगायतका शर्तहरु राखिएको छ । यदि कृषकले ऋण नतिरे कालो सूचीमा राख्ने, चलअचल सम्पति रोक्का गर्ने, सामाजिक सुरक्षालगायतका सेवाहरुमा रोक लगाइनेछ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अनुदानको दुरुपयोग हुने भएकाले सहुलियत ऋणमा ब्याज अनुदानको नीति ल्याएको बताइन् । यसबाट कृषि व्यवसाय प्रर्वद्धनका साथै कृषि तथा पशुपालनमा रोजगारीका अवसर सिर्जना हुने उनको भनाई छ । नेपाल राष्ट्र बैंकबाट पाँच प्रतिशत ब्याज अनुदान लिइरहेका कृषकहरुले भने प्रदेश सरकारको यस कार्यक्रमबाट लाभ लिन पाउने छैनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्