प्रदेश १ मा ४ प्रतिशतमा मात्र कोरोना देखियो



विराटनगर । प्रदेश १ मा एक लाखभन्दा धेरै व्यक्तिमा कोरोना भए–नभएको पत्ता लगाउन पीसीआर परीक्षण भएको छ । परीक्षणबाट जम्मा ४ प्रतिशतमा संक्रमण भएको देखिएको छ । सामाजिक विकास मन्त्रालकया अनुसार सोमबारसम्म प्रदेशभरका विभिन्न प्रयोगशालमा १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको छ ।

सोमबार मात्र १ हजार ८६० जनाको परीक्षण भएको छ । हालसम्म परीक्षण गरिएकामध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएकामध्ये ४ हजार १७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । संक्रमित संख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये जम्मा ४ दशमलव १६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोसी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएमध्ये २ हजार ४५ जनामा संक्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गत चैत १८, कोसीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गतेबाट पीसीआर परीक्षण सुरु गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्