सरकारले प्रदेशप्रमुख र अस्थायी राजधानी एक साताभित्रै तोक्ने निर्णय सार्वजनिक

By थाहा अनलाइन

December 23, 2017

सैघाली खबर

काठमाडौं,८ पुस

सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो। आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ।

अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ। तर अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए।

सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो। तर, अन्य दलहरूसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए। ‘शुक्रबार सर्वदलीय बैठक राखिएको थियो, सकेसम्म राजनीतिक सहमतिका आधारमा निर्णय गर्न भनेर कुरेको हो, अब सरकारले आफ्नो तरिकाले निर्णय लिन्छ,’ परियारले भने। प्रदेशको अस्थायी मुकामका लागि सरकारले तयारी पूरा गरेको परियारले बताए।