संक्रमितलाई योग सिकाउँदै आएका पालिका अध्यक्ष केसीलाई कोरोना संक्रमण



विरेन्द्रनगर । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकी बाहेक अन्य लक्षण नदेखिएको बताए ।

“अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।” अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए ।

करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनले आफैँ क्वारेन्टिन र आइसोलेशनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आउएका थिए । उनले आइसोलेशनका सङ्क्रमितलाई योगाभ्यास समेत गराउँथे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्