सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो तथ्यांक सार्वजनिक



कञ्चनपुर । सुदूरसिश्चम प्रदेशमा आत्महत्या गर्नेहरुको सङख्या पनि वर्षेनी बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७६ र ०७७ मा प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको बढी हो ।

प्रदेश प्रहरीको तथ्याङ्कले हरेक वर्ष यहाँ आत्महत्या गर्नेहरुको सङ्ख्या वृद्धिहुँदै गइरहेको देखाएको छ । “आत्महत्याको दर पनि विगत वर्ष र अहिलेको अवस्थामा समान जस्तै छ ।” प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने–“सङ्ख्यामा वृद्धि भएपनि धेरै अन्तर भने छैन ।” उनले लकडाउनयता सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी ३०६ जनाले आत्महत्या गरेको बताए ।

बितेको झण्डैं ६ महिनाको अवधिमा सबैभन्दा बढी कैलालीमा ११० जनाले आत्महत्या गरेका छन् । गत चैत ११ गतेयता आर्थिक मसान्तसम्म कैलालीमा ८१, कञ्चनपुरमा ६८, डोटीमा १५, अछाममा १४, बैतडीमा १२, दार्चुलामा १०, डडेल्धुरा र बझाङ्गमा ९-९ र बाजुरामा ६ जनाले गरी २२४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७२/०७३ मा ४५६, २०७३/०७४ मा ४३६, ०७४/०६ं७५ मा ४७०, २०७५/०७६ मा ४७५ र गत आर्थिक वर्षमा ५५१ जनाले आत्महत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए ।
चार वर्षयताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी झुण्डिएर र त्यसपछि विष सेवन गरेर मर्नेको संख्या धेरै छ । त्यसैगरी पानीमा हाम फालेर, हातहतियार प्रयोग गरेर र विष्फोटक पदार्थ प्रयोग गरेर पनि सुदूरपश्चिममा आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७२ र ०७३ देखि ०७६ र ०७७ सम्म दुई हजार तीन सय ८८ जनाले आत्महत्या गरेका छन् । ती मध्ये बालिबालिकाले समेत रहेका जनाइएको छ ।

प्रहरीले कतिपय आत्महत्या घरेलु हिंसा र पारिवारिक कलहका कारण पनि भइरहेको विश्लेषण गरेको छ । “आत्महत्या र आपराधिक घटनाहरु रोकथामका लागि प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।” उनले भने,“अपराध रहित समाज निर्माणका लागि सबैको सहयोग÷सहकार्य आवश्यक छ ।”

त्यसैगरी महेन्द्रनगरस्थित अधिवक्ता पुनम चन्दले घरेलु हिंसा, आत्महत्या र जबरजस्ती करणीका मुद्दाहरु बढिरेहको बताए । “कतिपय घटनाहरु गाउँघरमै मिलापत्र गरेर लुकाइएको पनि देखिन्छ ।” उनले भने,“मानिस पहिले भन्दा चेतनशील भइसके, न्याय खोज्न पनि आउनेक्रम बढ्दै छ ।”

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्