कोरोना केन्द्र उहानबाट आन्तरिक उडान शुरु



बेइजिङ । कोरोनाभाइरस महामारीको केन्द्रकारुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ । उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोनाभाइरसको संक्रमण तिब्ररुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गरेको थियो ।

गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए ।

यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ । अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर तथा आम्स्र्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा शुरु भइसकेका छन् ।

चीनमा झण्डै एक महिनाभित्र स्थानीयरुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार १८४ जना रहेका र त्यसमध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्