बालबालिकाको हक, हित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको पनि स्मरण गराए ।

‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।

“बालबालिकाका लागि सुरम्य पारिवारिक–सामाजिक वातावरण निर्माण गर्न सङघीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन”, सन्देशमा भनिएको छ, “त्यसका लागि सबै तहका सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गर्दछु ।”

प्रधानमन्त्रीले सिर्जनाका आधारभूमि बालबालिकामा सकारात्मक, सबल र जीवनमुखी रङ भर्न अभिभावक, परिवार र समाजलाई आफ्नो नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रषेण गर्न आह्वान गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्