एमाले र माओवादी केन्द्रका शिर्ष नेताको बैठक बस्दै



सैघाली खबर
काठमाडौं,९ पुस

सरकार गठन र पार्टी एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अनुपस्थितिका कारण बस्न सकेको थिएन ।

भैरहवामा रहनुभएका प्रचण्ड खराब मौसमका कारण जहाज नउडेपछि उतै रोकिनुभएको थियो । एमाले उपाध्यक्ष भीम रावलले सीआइएनलाई दिनुभएको जानकारी अनुसार प्रचण्ड आज आए बैठक बस्ने तयारी छ । बैठकमा सरकार गठनसँगै राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकका विषयमा समेत छलफल हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सीनाका अनुसार राष्ट्रिय सभामा एकल संक्रमणीय वा बहुमतिय कुन बाटोबाट अघि बढ्ने भन्नेमा बामगठबन्धनका दुई दलबीच एउटै धारणा बनाएर नेपाली कांग्रेस र अन्य राष्ट्रिय दलसँग छलफल गर्ने तयारी भइरहेको छ । एमालेले बहुमतिय प्रणालीबाट अघि बढ्नुपर्ने बताइरहँदा नेपाली कांग्रेस एकल संक्रमणिय प्रणालीबाट अघि बढ्ने पक्षमा छ ।

कांग्रेस एमाले दुबैलाई मान्य हुनेगरी सहमति जुटाउने पक्षमा माओवादी केन्द्र रहेको र त्यसै अनुसार नेताहरुले गृहकार्य गरिरहेका तिमल्सेनाले बताउनुभयो । राष्ट्रियसभा गठनको विषय टुंगिएपछि सरकार गठनको प्रक्रिया पनि अघि बढ्ने माओवादी स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन शुक्रबार पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको थियो । तर बैठकमा कुनै सहमति भने हुन सकेन । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले राष्ट्रपतिले अध्यादेश प्रमाणित गर्ने बित्तिकै सबै समस्या टुंगिएर जाने बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्